कर्मचारीलाई सबल बनाउँदै गण्डकी सरकार

कर्मचारीलाई सबल बनाउँदै गण्डकी सरकार

gpta training (1)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनका क्रममा आइतबार मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् । उनले भने, ‘संघीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अंग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्र सेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।’

हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै संघीयतालाई मजबुत गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । ‘हिजोकै प्रवृत्ति अनुसार कर्मचारीले काम गरे संघीयता आएको मतलब नै भएन, त्यसै अनुसार कार्यसम्पादन गर्नु पर्दछ । सरकारको स्थायी अंग, जो जनतासँग दैनिक रुपमा प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ, जिम्मेवार रुपमा कार्यसम्पादन गरिदिनुहोला ।’

क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरे पनि ती तालिमको उपलब्धि निकै कम हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले अब यसमा सुधार हुन जरुरी रहेको भनाइ राखे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजन तरिकाले सहजरुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे । उनले आफू सेवाग्राही भएर कार्यालयमा जाँदा जस्तो व्यवहारको अपेक्षा गरिन्छ, त्यसै अनुसार काम गर्न सके धेरै सुधार हुने भनाइ राखे । निजामती कर्मचारलाई तलब खाएर समाजसेवा गर्ने सुअवसर मिलेको उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम सुरु गरेको बताए । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२२ महिना अघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यही अनुसार अगाडि बढेको उनले बताए । २ वर्ष भित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds