कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

pregnent-woman

file photo

कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ भने महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले अनिच्छुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन घटेको बताइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको छ । विसं २०७६ चैत ११ देखि विसं २०७७ साउन ६ गतेसम्मका लकडाउनमा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए भने सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्या १५ हजारभन्दा कम रहेको जनाइएको छ । सवारीसाधन तथा दक्ष स्वास्थ्यको पहुँच नहुँदा ती आमाको अत्यधिक रक्तश्र्राव, मुर्छा पर्ने समस्या, गर्भपतनको जटिलता, कडा प्रसूति, घरमा नै प्रसूतिलगायतका कारणले ती आमाको निधन भएको बताइएको छ । यसैगरी लकडाउनकै अवधिमा कति नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु भयो भन्ने आधिकारिक तथ्याङ्क पनि हालसम्म सार्वजनिक भएको छैन ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १२५ मा झार्ने अति महत्वकाङ्क्षी लक्ष्य राखेको थियो । यसैगरी दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिएक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यी लक्ष्य हासिल लगभग असम्भव देखिएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)का सहनिर्देशक डा महेश पुरी भन्छन्, “महामारीका समयमा परिवार नियोजनका साधनमा पहुँच र उपलब्धता नहुँदा, समयमा सुरक्षित गर्भपतन सेवा नपाउँदा अनिच्छिुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन भने घट्न गएको हो । यसले गर्दा यौन तथा प्रजनन स्वास्थ्य सेवाका सूचकलाई असर पार्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार परिवार नियोजन सेवाको विस्तार गरेको खण्डमा १० प्रतिशत शिशु र ३० प्रतिशत मातृ मृत्युदर घट्ने जनाइएको छ ।

कृपाको एक अध्ययनअनुसार नेपालमा वार्षिकरूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छ । लकडाउनका अबधिमा एकतिहाइले गर्भपतन सेवा घटेको बताइएको छ । हालसम्म सुरक्षित गर्भपतन सेवाका लागि ५३० स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने त्यहाँ कार्यरत तालिमप्राप्त स्वास्थ्यकर्मीले सेवा प्रदान गरिराखेका छन् ।

विसं २०५९ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता प्रदान गरिएको थियो । यसपछि सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति २०६० कार्यान्वयनमा आएको थियो भने यही नीतिका आधारमा विसं २०७३ देखि सूचीकृत सरकारी स्वास्थ्य संस्थामा सो सेवा निःशुल्क प्रदान गरिँदै आइएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, नियमावली २०७७ र सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ पनि कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा रोशन पोखरेल भन्नुहुन्छ, “कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवाका सूचकाङ्कमा धेरै नकारात्मक प्रभाव पर्दैन । कोरोनाका सुरुआती चरणमा यसको कोरोना नियन्त्रणमा स्वास्थ्यका सबै संयन्त्र परिचालित भए पनि केही समय अन्तरालमा स्वास्थ्य संस्थाले सेवाग्राहीले चाहेका सेवा प्रदान गर्न सुरु गरेका थिए । सम्पूर्ण स्वास्थ्य सेवा पूर्ववत अवस्थामा फर्किसकेका छन्”, गुणस्तरीय परिवार योजनाका सेवा तथा सबै प्रकारका परिवार नियोजनको साधनका पहुँचले अनिच्छिुक गर्भ र गर्भपतनको दर घट्ने जनाइएको छ । जनगणना २०७८ का क्रममा पनि मातृ मृत्युका बारेमा सूचना सङ्कलन गरिएको थियो । यसको नतिजा आउन बाँकी छ ।

मन्त्रालयले महामारीका समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवालाई प्रभावित हुन नदिन विसं २०७७ वैशाखमा अन्तरिम निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा भनिएको छ, “परिवार योजना सेवा परिवार योजना सेवाप्रदायकले सेवा रजिष्ट्ररबाट सबै सेवाग्राहीको नाम टिपेर सूची बनाउने र टेलिफोन वा महिला स्वास्थ्य स्वयंसेविकामार्फत गोपनीयता कायम राख्दै सेवाको निरन्तरताका लागि फलोअप तथा सहजीकरण गर्ने ।” यसैगरी सुरक्षित गर्भपतन सेवा क्लिनिकल तथा औषधि दुवै माध्यमबाट जारी राख्नेलगायतका बुँदा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds