पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा लेकदेवी पुनमगर रहेका छन् । त्यसैगरी, ११ सदस्यीय कार्यसमितिको सदस्यहरूमा अञ्जु बुढामगर, मुना रानामगर र बाजिन्द्र बुढामगर रहेका छन् भने तीन जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले कोरोना महामारीका कारण चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताए । पछिल्लो समय कोरोना केही नियन्त्रणमा आएपनि जोखिम उत्तिकै रहेको भन्दै उनले अझै पनि ढुक्क भएर चलचित्रमा लगानी गर्ने वातावरण तयार भइनसकेको बताए । मगर चलचित्रको बजार विस्तार आवश्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष पुनमगरले मगर चलचित्र निर्माणलाई बढावा दिन स्वयं मगर समुदाय र राज्यले साथ दिनुपर्ने उल्लेख गरे ।
संघका संस्थापक केन्द्रीय सदस्य सन्तोष पिठाकोटेमगरले मगर जातिको जनसंख्या ठूलो भएपनि मगर चलचित्रको बजार विस्तार हुन नसक्नु विडम्बना भएको बताए । मगर चलचित्रको निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको भन्दै उनले मगर चलचित्रको प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ लिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले मगर चलचित्रकर्मी र मगर पत्रकारका बीचमा सहकार्यको खाँचो औंल्याए । मगर चलचित्रको प्रवद्र्धनका लागि मगर पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले मगर चलचित्रकर्मीले मगर पत्रकार खोज्ने र मगर पत्रकारले मगर चलचित्रकर्मी खोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर भाषा, साहित्य र चलचित्र क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नु जरुरी रहेको बताए ।
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र उपाध्यक्ष केशव आलेमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर