जमुनावर्षा शर्मा/रासस । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै क्यानोनिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा रहेको झरनामा क्यानोनिङ गर्ने बढ्न थालेको सञ्चालक राम गुरुङले जानकारी दिए । ‘दसै-तिहारको बिदामा पोखरा घुम्न आउने साहसिक खेलप्रेमी पर्यटकले क्यानोनिङप्रति राम्रो रुचि देखाउनु भएको छ, अहिले दैनिकजसो १५÷२० जना आउनुहुन्छ’, उनले लामो समय कोरोनाका कारण बन्द रहेको क्यानोनिङ सञ्चालनमा आएसँगै खेलको मज्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको बताए ।
कोरोनाका कारण एउटै दिनचर्यामा समय व्यतित गरिरहेका अधिकांशले क्यानोनिङ गर्दा आनन्द अनुभव गरेर फर्कने गरेको सञ्चालक गुरुङले सुनाए । क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो।
दशैं-तिहारको समयमा क्यानोनिङका लागि आफ्ना साथीहरुसहित कुदी छहरा पुगेकी पोखराकी दीपा पौडेलले प्राकृतिक छहरामा रमाउन पाउँदा डरभित्र नै आनन्दको महसुस गरेको अनुभव सुनाइन् । उनले भनिन्, ‘सुरुमा त पानीको छहराको दवाब, अनि चट्टानमा खुट्टा चिप्लिँदा डर पनि लाग्यो, बिस्तारै गाइडहरुले भने जस्तै डोरीको सहायताले झर्दै जाँदा भने निकै आनन्द अनुभूति भयो।’
उनले क्यानोनिङपश्चात् मानसिक र शारीरिक स्फूर्ति पाएको अनुभव सुनाइन् । पौडेलले साहसिक खेल भएकाले आफूभित्रको डरलाई हटाएर आत्मविश्वास जगाउन पनि यस्ता गतिविधि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनसँगै क्यानोनिङ गरेकी पोखराकी सौन्दयकर्मी रचना अधिकारीले पनि पहिलोपटक क्यानोनिङ गर्दा निकै आनन्द र रमाइलो अनुभव गरेको सुनाइन् ।
‘मलाई प्राकृतिक कुरामा रमाउन निकै मन पर्छ, यो ठाउँ पनि निकै शान्त रहेछ । चराचुरुङ्गीको चिरबिर आवाजसँगै कलकल बगेको छहरामा डोरीको सहायताले झुण्डिएर पानीमा भिज्नुको मज्जा नै बेग्लै, मलाई निकै आनन्द लाग्यो ।’ अधिकारीले पनि आफूभित्रको डर हटाउन र मानसिक स्फुर्तिका लागि क्यानोनिङ गर्दा राम्रो हुने विश्वास व्यक्त गरिन् ।
क्यानोनिङ सञ्चालक गुरुङका अनुसार पहिलोपटक क्यानोनिङ गर्न चाहनेहरुका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने मानसिक रुपमा तयार गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि गाइडहरुले नै सबै परामर्शसहित डेमो देखाउँछन् । आकस्मिक उद्धारका लागि पनि गाइडहरु तैनाथ रहन्छ । एक पटकमा १४ जनाका लागि क्यानोनिङ गर्ने उपकरणहरु उपलब्ध रहेको गुरुङले बताए ।
उनले भने, ‘हामीसँग एकचोटिमा १४ जनालाई पुग्ने आवश्यक सामग्री मात्र छ । क्यानोनिङ गर्दा चिप्लिने, हामफाल्ने, पौडिने र झर्ने जस्ता गतिविधि हुने भएकाले यो जोखिमपूर्ण पनि मानिन्छ ।’ उनले साहसिक खेलका लागि क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता लगायनका सामग्रीको प्रबन्ध गरिने बताए ।
पछिल्लो समय शनिबार र बिदाको दिन क्यानोनिङ र छहरा हेर्न आउनेको सङ्ख्या पनि निकै बढेको उनको भनाइ छ । कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । झरनाको सुन्दर दृश्य हेर्ने र टिकटक बनाउनेहरु त्यहाँ पुग्ने गरेका छन् ।
पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरा रहेको छ ।
क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रु दुई हजार ४०० देखि रु चार हजार ९०० सम्म शुल्क तोकिएको छ ।
साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् उनीहरुलाई ‘बिगीनर’ र ‘प्रोफेसनल’ गरेर छुट्याइन्छ र झरनामा रम्ने वातावरण तयार गरिन्छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने