सात प्रदेशमध्ये उत्कृष्ट सञ्चार कानुन गण्डकीमै बन्नेछः मन्त्री थापा

सात प्रदेशमध्ये उत्कृष्ट सञ्चार कानुन गण्डकीमै बन्नेछः मन्त्री थापा

mantri thapa fonij

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले स्वतन्त्र पत्रकारितालाई बाधा पुग्ने गरी प्रदेश कानुन नबन्ने विश्वास दिलाएका छन् । उनले आमसञ्चार विधेयक पत्रकारकै पक्षमा आउने बताउँदै पेलेर जाने पक्षमा आफू नरहेको प्रष्ट पारेका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले स्याङ्जाको पर्यटकीय गाउँ सिरुबारीमा आयोजना गरेको ग्रामिण पर्यटन प्रवर्द्धन एवं पत्रकारको क्षमता अभिवृद्धि तालिमको शुभारम्भर गर्दै मन्त्री थापाले पत्रकारहरु आत्तिनु नपर्ने बताएका हुन् ।

मन्त्रालयकै सहयोगमा आयोजित कार्यक्रममा मन्त्री थापाले भने – म सञ्चार विधेयकका बारेमा पत्रकार साथीहरुसँग निरन्तर छलफल, विचार विमर्श गरिरहेका छौँ । लुम्बिनी लगायतका प्रदेशमा पेलेरै जाने रणनीतिका साथ सरकार अघि बढेको पनि थाहा पाएका छौँ । तर, तपाईंहरु ढुक्क हुनुहोस्, गण्डकी सरकार पत्रकारलाई पेलेर अघि बढ्दैन । विधायन समितिमा पुगेको सञ्चार विधेयक कसरी पत्रकारमैत्री बन्छ भनेर समिति सभापतिसँग पनि मेरो कुरा भइरहेको छ ।’

उनले अब सदन चल्नासाथ विधेयक पास गर्ने तयारी भइरहेको समेत बताए । फोनिजले पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै ग्रामिण पर्यटन प्रवर्द्धनका लागि गरेको यो कार्यक्रम पवित्र उद्धेश्यको रहेकाले पनि साथ दिएको बताए । उनले नवप्रवेशी पत्रकारहरुलाई यस क्षेत्रमा लागिरहन प्रेरित गर्ने खालको कार्यक्रम गर्न पनि सुझाए ।

यसैबीच, मन्त्री थापाले कोरोना महामारीका कारण ठप्प रहेको पर्यटन क्षेत्रलाई अब चलायमान बनाउन पनि गाउँ गाउँमा ग्रामिण पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नुपर्ने बताए । फोनिजको यो कार्यक्रमले पर्यटकलाई वृद्धि गर्न सघाउ पुग्ने मन्त्री थापाको भनाई छ ।

‘प्रदेश सरकारले गाउँ गाउँमा घरबास योजना (होम स्टे) का लागि कार्यविधि बनाएको छ । शहरबजारको कोलाहलबाट निस्कँदै ग्रामिण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको छ । अब शहरलाई एक छिन भएपनि बिर्साउने गरी होम स्टेमा अर्गानिक खाना खुवाउनुपर्छ । गाउँमै उत्पादित तरकारी, माछामासु, खाना भएमा मात्र पर्यटक खुशी हुन्छन्, र बसाईं लम्बाउन सकिन्छ ।’ मन्त्री थापाले भने ।

फोनिज गण्डकीका इन्चार्ज हुमबहादुर गुरुङले आफ्नोपन, पहिचान, सभ्यताले सिरुबारीलाई चिनाएको हुँदा अरु होमस्टेले पनि सिकेर उन्नति गरेको बताए । उनले पर्यटन र पत्रकार पर्यायवाची शब्द भएका कारण सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले आन्तरिक पर्यटक बढाउने खालका कार्यक्रम फोनिजसँग मिलेर गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि यस्ता अन्य कार्यक्रमहरुमा सहकार्य गर्ने उनको भनाइ थियो ।

वडाध्यक्ष लोकप्रसाद ढकालले होमस्टेका लागि सकेको सहयोग गरिरहेको जनाए । अझै पनि भनेजस्तो नभएका कारण राम्रो गर्ने प्रयास जारी रहेको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रीकृष्ण सिग्देलले पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आधारभूत तालिमको पनि आवश्यकता रहेको बताए । यसमा पत्रकारसँग सम्बन्धित सबैले ध्यान दिनुपर्ने उनले जनाए ।

अन्तर्क्रियाको पहिलो सत्रमा ‘पत्रकार पेसागत क्षमता अभिवृद्धि’ विषयमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार हुम गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।

दोस्रो सत्रमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका निमित्त सचिव काशीराम गैह्रेले गत वर्ष भएका कार्यक्रम र यो वर्षका योजना र कार्यक्रमबारे आफ्नो प्रस्तुतिमार्फत् पत्रकारलाई प्रष्ट पारे । तेस्राे तथा अन्तिम सत्रमा ‘ग्रामीण पर्यटनको पाठशाला’ विषयमा पर्यटनविद् हरिसिंह गुरुङको कार्यपत्रमाथि अन्तर्क्रिया गरिएको थियो ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाले पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं साथ दिने बताए । महासचिव रुद्र श्रीषमगरले फोनिजले पर्यटन प्रवद्र्धनमा फोनिजले अझै उत्कृष्ट कार्यक्रम ल्याउने जनाए । फोनिज गण्डकीका उपाध्यक्ष दिल श्रीषमगरले आदिवासी जनजाति पत्रकार उत्पादनमा जोड दिए । नयाँ पत्रकार जन्माउन र भएका पत्रकार जोगाउनु पछिल्लो समय चुनौतीको विषय रहेको उनको भनाइ थियो ।

पत्रकार क्षमता अभिवृद्धि तालिममा गण्डकीका विभिन्न जिल्लामा कार्यरत तीन दर्जन बढी पत्रकारहरु सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds