काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो ।
संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले भोलि (बिहीबार) तीन बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी पेश भएको छ।
गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन्। यसअघि मुख्यमन्त्री शाक्यले दिएको राजीनामा बुधबार नै स्वीकृत भएको थियो ।
शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।
पाण्डे झण्डै सात महिना मुख्यमन्त्री हुनेछन् । त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् । गठबन्धनबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
सुरुमा बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर कांग्रेसले पनि सरकारको नेतृत्व गर्ने दाबी गरेपछि शीर्ष नेताहरुबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
को–को बन्दै छन् मन्त्री ?
गठबन्धनका तर्फबाट नेतृत्व गर्ने मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेको लामाको भनाई छ । उनका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउनेछन् ।
सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारको काम अघि बढ्ने सचेतक लामाले बताए ।
यस्तो छ प्रदेशको अंकगणित
१०९ सदस्यीय प्रदेशसभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ । बागमतीमा पाँच दलीय गठबन्धनसँग ५९ सांसद छन् ।
बागमतीमा माओवादीसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र एक जना सांसद रहेका छन् । सत्ता ढलेको एमालेसँग भने ४३ सांसद छन् । त्यस्तै विवेकशील साझा पार्टीसँग ३, नेमकिपाका २ र राप्रपसँग १ सांसद रहेका छन् ।
विभाजन हुनुअघि एमाले सांसदको संख्या ५६ रहेको थियो । तर एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमालेको सांसद संख्या ४३ जनामा खुम्चिएको हो ।
सम्बन्धित खबर
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
चितवनमा चिसोका कारण बढ्न थाले बिरामी, सावधानी अपनाउन चिकित्सकको आग्रह
अण्डाको भाउ हालसम्मकै उच्च
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर