हेलिकप्टरबाट प्रधानमन्त्री देउवाले गरे पोखरा विमानस्थलको निरीक्षण, ‘समस्या हल हुन्छ, काम नरोक्नू’

हेलिकप्टरबाट प्रधानमन्त्री देउवाले गरे पोखरा विमानस्थलको निरीक्षण, ‘समस्या हल हुन्छ, काम नरोक्नू’

deuba airport pokhara

तस्वीरः सुदर्शन रञ्जीत

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान हेलिकप्टरमार्फत् विमानस्थलको निरीक्षण गरेका हुन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार पोखरा आएका देउवा पोखरामै बसेका थिए।

पोखरा विमानस्थलदेखि हेलिकप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन्।  सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केका छन्। उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन्।

हेलिकप्टर निरीक्षणपश्चात प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रमुख विनेश मुनकर्मीले  ब्रिफिङ गरेका थिए । विमास्थल निर्माणको काम ८५ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिए । जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताए । वैशाखबाट पनि विमानस्थल सञ्चालनमा आउन सक्ने उनको भनाइ थियो ।

विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।

यस्तै, विमानस्थल सञ्चालन गर्न पूर्वतर्फ रहेको रिठ्ठेडाँडा ४० मिटर काट्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने, विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्ने लगायत समस्या मुनकर्मीले बताएका थिए।

प्रधानमन्त्री देउवाले उक्त समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोभिडका कारण १ वर्ष लम्बियो, अब समयमै निर्माण सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री ज्यूले विमानस्थलमा अहिले देखिएका सबै समस्या समाधान गर्ने वचन दिनुभएको छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds