गण्डकीका मन्त्रीलाई आचारसंहिता: मुख्यमन्त्रीको स्वीकृतिबिना प्रदेश राजधानी छोड्न नपाइने

गण्डकीका मन्त्रीलाई आचारसंहिता: मुख्यमन्त्रीको स्वीकृतिबिना प्रदेश राजधानी छोड्न नपाइने

Mukhyamantri Krishnachandra Nepali

गण्डकी प्रदेश सरकारले मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ । मन्त्रिपरिषदको हालैको बैठकले उक्त आचार संहिता स्वीकृत गरेको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताएका छन् ।

मन्त्रीहरुलाई अनुशासनमा राख्ने र मुख्यमन्त्रीप्रति उत्तरदायी बनाउने उद्देश्यबाट आचारसंहिता निर्माण गरिएको मन्त्री खड्काले सुनाए ।

प्रदेश राजधानी रहेको जिल्ला कास्की छाडेर बाहिर जानुपरे मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने आचार संहितामा छ । मन्त्रिपरिषदमा वा मन्त्रिपरिषदका सदस्यबीच हुने कुनै विवादलाई सञ्चारमाध्यममा अभिव्यक्त गर्न नपाइने आचार संहितामा छ ।

मन्त्री बनेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पनि आचार संहिताले भनेको छ । तर मन्त्री बनेको ६० दिन कटिसक्दा पनि अहिलेसम्म गण्डकी प्रदेशका कुनै मन्त्रीले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । आचार संहितामा उपलब्ध भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादनका सामग्रीमात्र प्रयोग गर्नुपर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्का सदस्यको आचार संहिता, २०७८

प्रस्तावना

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदका सदस्यहरूले प्रचलित कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्दा सदस्यहरूकाबीचमा आपसी सामनजस्यता कायम राख्दै आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दै सो अनुरूप पालना गर्नु पर्ने आचरण र व्यवहारलाई व्यवस्थित एवं पारदर्शी बनाई सक्षम र पारदर्शी रुपमा नैतिकता र मर्यादा कायम राखी असल शासन सञ्चालन गर्न बाञ्छनीय भएकोले प्रदेश सुशासन ऐन, २०७६ को दफा २२ को उपदफा (२) बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्ले यो आचार संहिता बनाई जारी गरेको छ ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः

१.१ यस आचार संहिताको नाम “ मन्त्रिपरिषदका सदस्यको आचार संहिता, २०७८” रहेको छ।

१.२ यो आचार संहिता तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आचार संहितामा,–

२.१ “मन्त्रिपरिषद् सदस्य” भन्नाले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री, राज्य मन्त्री वा सहायक मन्त्री सम्झनुपर्छ ।

२.२ “मन्त्रिपरिषद्” भन्नाले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद् सम्झनुपर्छ ।

२.३ “मन्त्री” भन्नाले गण्डकी प्रदेश सरकारको मन्त्री सम्झनुपर्छ र सो शब्दले गण्डकी प्रदेश सरकारको राज्य मन्त्री वा सहायक मन्त्री समेतलाई जनाउँछ ।

२.४ “मुख्यमन्त्री” भन्नाले गण्डकी प्रदेशको मुख्य मन्त्री सम्झनुपर्छ ।

३. आचार संहिताको पालनाः यो आचार संहिताको पालना गर्नु प्रत्येक मन्त्रिपरिषद् सदस्यको कर्तव्य हुनेछ ।

परिच्छेद २

मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचरण

४. पदीय आचरणः नेपालको संविधान र प्रचलित कानूनको अधिनमा रही मन्त्रिपरिषद् सदस्यले देहायको पदीय आचरणको पालना गर्नुपर्नेछः-

४.१ नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै काम कारवाही गर्न नहुने,

४.२ आफ्नो काम कारवाही राष्ट्र र सर्वसाधारणको सेवामा केन्द्रित हुनु पर्ने,

४.३ मन्त्रालयबाट सम्पादन गर्ने हरेक काम कारवाही नेपालको संविधान र कानून बमोजिम आम नागरिकको अपेक्षालाई ध्यानमा राखी गर्नु पर्ने,

४.४ आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा गण्डकी प्रदेश सभा र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनु पर्ने,

४.५ प्रदेश सभाका सदस्यहरूको राय सल्लाह र सुझाव सुन्न यथासम्भव सरल र प्रभावकारी व्यवस्था मिलाउनु पर्ने,

४.६ आफ्नो मन्त्रालयका हरेक काम कारवाही नेपालको संविधान र कानून बमोजिम गरिने हुँदा त्यस्तो काम कारवाहीमा आफूले जिम्मेवारीपूर्वक सम्पादन गर्ने र सो को अभिलेखीकरण गर्नु पर्ने तथा नेपालको संविधानलाई कार्यान्वयन गर्नेतर्फ प्रतिबद्ध रहनु पर्ने,

४.७ गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीद्वारा जारी गरिएका हरेक निर्देशनहरूलाई पूर्ण पालना गर्ने र सो को कार्यान्वयनको प्रगति विवरण दिनु पर्ने,

४.८ मन्त्री पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र प्रचलित कानून बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेश गरी सार्वजनिक समेत गर्नु पर्ने,

४.९ आफू वा आफूसँग सम्बन्धित कुनै व्यक्ति संस्था वा पक्षलाई फाइदा पुग्ने र राज्य वा नागरिकलाई नोक्सान पर्ने गरी जानी जानी कुनै काम कारवाही गर्न, गराउन नहुने,

४.१० आफूलाई जानकारी भएको तथ्य वा व्यहोरा झुट्टा रूपमा उल्लेख गरी बैठकमा प्रस्तुत गर्न वा सो अनुसारको दाबी लिन नहुने,

४.११ आफ्नो विभागीय मन्त्रालय वा अन्य मन्त्रालयको काम कारवाहीको सन्दर्भमा आँफूले जानकारी पाएको गोप्य राख्नु पर्ने तथ्य वा व्यहोरा वा सूचना आधिकारिक निकाय वा पदाधिकारी बाहेक अन्यत्र व्यक्त गर्न वा गर्न लगाउन नहुने,

४.१२ आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक रुपमा उपस्थित हुँदा भड्किलो रुपमा प्रस्तुत हुन वा मद्यपान गर्न नहुने,

४.१३ मन्त्रिपरिषद्‍मा वा मन्त्रिपरिषद्का सदस्यकाबीचमा भएको वा हुने कुनै विवाद सञ्चार माध्यम मार्फत अभिव्यक्त गर्न वा गर्न लगाउन नहुने,

४.१४ संघीय इकाईको पारस्परिक सम्बन्धमा असर पर्नसक्छ भन्ने जानी जानी कुनै क्षेत्र, जात, जाती, धर्म, वर्ण, लिङ्ग, सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गतिबिधि गर्न, गराउन नहुने,

४.१५ मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनु पर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार गण्डकी प्रदेश सरकारलाई बुझाउनु पर्ने,

४.१६ उपलब्ध भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादनका सामाग्री मात्र प्रयोग गर्ने र गराउने,

४.१७ मन्त्रालयको काम कारबाहीमा अत्यधिक आर्थिक मितव्ययिता अपनाउनु पर्ने,

४.१८ सरकारबाट उपलब्ध गराउने सेवा र सुविधाका अवसरहरूको बाँडफाँड गर्दा नेपालको संविधान र प्रचलित कानून बमोजिम सामाजिक न्याय र समावेशीकरण सम्बन्धी राज्यको नीतिलाई अङ्गीकार गर्नु पर्ने,

४.१९ मन्त्रालयको काम कारबाही सम्बन्धमा सार्वजनिक जानकारी लिन सुझाव तथा उजुरी पेटीका, हटलाईन, टेलिफोन, इमेल जस्ता साधन प्रयोग गर्ने र सरोकारवाला र विज्ञ समेतसँग सार्वजनिक सुनुवाईको कार्यक्रम निरन्तर गर्ने गराउने,

४ २० स्वकीय वा निजी सचिव नियुक्ति गर्दा योग्य र क्षमतावान व्यक्तिलाई चयन गर्ने र निजको काम कारवाहीको सूपरीवेक्षण आफैँले गर्ने,

४.२१ सरकारी काम काजको समयलाई प्राथमिकता दिई समयमा उपस्थित हुने कार्यलाई प्राथमिकता दिनु पर्ने,

४.२२ राष्ट्रसेवक कर्मचारीलाई राजनैतिक दबाब भन्दा बिलकुल अलग भै स्वतन्त्रता पूर्वक काम गर्ने वातावरण तयार गर्ने गराउने,

४.२३ गण्डकी प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारको प्रवक्ता मार्फत मात्र सार्वजनिक गर्ने गराउने,

४.२४ पदीय मर्यादा र अख्तियारको दुरूपयोग गरी धम्क्याउने वा बदनियत राखी कार्य गर्ने वा सम्पत्ति आर्जन गर्ने कार्यलाई शून्य सहनशीलताको आधारमा कारवाही गर्नु पर्ने,

४.२५ सरकारी श्रोत र साधनलाई निजी, पारिवारिक काममा वा सरकारी प्रयोजन बाहेकका काममा प्रयोग नगर्ने, नगराउने,

४.२६ देश र जनताको गरिमा, मर्यादा र प्रतिष्ठालाई आफ्नो गरिमा मर्यादा र प्रतिष्ठा सन्निहित रहेको सम्झी सो अनुरूपको काम कर्तव्य र अधिकारको प्रयोग गर्नु पर्ने,

४.२७ आफ्नो परिवारका कुनै सदस्य वा नजिकको नातेदार वा घनिष्ठ मित्रसँग सरकारी काम कारवाही बाहेकका कुनै विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पुरयाउने गरी कुनै व्यक्ति वा पदाधिकारीबाट आतिथ्यता लिने, दान वा उपहार स्वीकार गर्ने वा गर्न लगाउन नहुने,

४.२८ मरमोलाहिजा, पक्षपात, भनसुन वा द्वेष वा प्रतिशोधको भावना कारवाही गर्न, गराउन नहुने,

४.२९ झुटो तथ्याङ्क वा विवरण दिन वा सार्वजनिक गर्न, गराउन नहुने,

४.३० गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश सभा र नेपाल राज्यका अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको क्षेत्राधिकार उल्लङ्घन हुने वा एक अर्कामा घृणा वा द्वेष पैदा हुने गरी कुनै काम कारवाही गर्न वा गराउन नहुने ।

परिच्छेद ३

विविध

५. मुख्यमन्त्रीले निर्देशन दिन सक्नेः यो आचार संहिताको सम्बन्धमा तथा अन्य विषयमा मुख्यमन्त्रीले समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु मन्त्रिपरिषद् सदस्यको कर्तव्य हुनेछ ।

६. खारेजीः प्रदेश सरकार, प्रदेश न. ४ मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता, २०७४ खारेज गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ