काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल *(वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए । उनका अनुसार १० दिन यतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या भरिएका हुन् । “सङ्क्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला”, उनले भने, “अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।”
उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए ।
उनका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उहाँको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।
उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिनुभयो । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।
शुक्रराज अस्पतालका निर्देशक डा।अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन् । यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।
काठमाडौँ उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् ।
देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताउनुभयो । उहाँले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिए। तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।
उहाँले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए। अस्पतालमा १४५ शय्या कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए । “अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ”, उनले भने, “सङ्क्रमितहरु दिनप्रतिदिन बढेका छन् ।” उहाँले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने