कृष्ण न्यौपाने । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचारको प्रभाव कति छ भन्ने तनहुँको मानुङकोटले प्रमाणित गरिसक्यो । केहीवर्ष अगाडिसम्म सुनसान रहने मानुङकोटमा गतवर्ष पर्यटकको चहलपहल ह्वात्तै बढ्यो । एकैदिन १० हजार भन्दा बढी मानुङकोटको डाँडा उक्लिए । मानुङकोट पहिला पनि थियो, तर प्रचारको कमीले ओझेलमा परेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण धेरै ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । त्यसैको पछिल्लो उदाहरण हो भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुङ्गा । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
दमौलीबाट त्यस ठाउँसम्म घुम्न पुगेका रोहित श्रेष्ठले उद्यान निकै आकर्षक लागेको बताउनुभयो । “सामाजिक सञ्जालमा तस्वीर आएपछि त्यस ठाउँसम्म पुग्ने इच्छा लागेको थियो, त्यहाँ पुग्दा निकै आकर्षक लाग्यो”, उहाँले भन्नुभयो ।
‘घाङ्च ल्हुम’ भनेको मगर भाषामा अग्लोे ढुङ्गा हो । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्व कालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ । जङ्गलमा बेवारिसे ढुङ्गा सिङ्गारिएका र चिटिक्कको पार्क बन्ला भन्ने कल्पनासमेत नभएको वडा सदस्यसमेत रहेका स्थानीयवासी बाबुराम रानाले बताउनुभयो । “जङ्गलको बीचमा थियो, पहिला पहिला जङ्गल फाँडेर देखिने बनायौं, अहिले उद्यान बनेको छ, यस्तो राम्रो उद्यान बन्ला भनेर कसैले चिताएका थिएनौँ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङको पहलमा यस ठाउँमा उद्यान बनेको हो । गुरुङकै वडामा पर्ने यस ठाउँमा बेवारिसे अवस्थामा रहेको ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो । कार्यक्रमका सिलसिलामा पटकपटक गाउँ आउँदा गुरुङले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने सोच बनाउनुभएको थियो ।
प्रदेश सरकारको रु २० लाखको लगानीमा उद्यान निर्माण गरिएको छ । उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल शुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । “सामाजिक सञ्जाल, सञ्चारमाध्यममा यस ठाउँको तस्वीर प्रकाशन भएपछि आन्तरिक पर्यटक तानिएका छन्”, उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न ठाउँबाट आउने क्रम शुरु भएको छ ।”
उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी र चराको चुच्चोबाट पानीको फोहरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यहाँ पैदल मार्ग बनाइएको छ भने चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ ।
अग्ला चुच्चे ढुङ्गालाई सिङ्गारेर बनाइएको उद्यानले पर्यटकलाई लोभ्याएको उहाँले बताउनुभयो । “प्राकृतिक हिसाबले ढुङ्गा आफैमा आर्कषक थियो, यसलाई व्यवस्थित गर्दै उद्यान बनाएका छौ”, उहाँले भन्नुभयो । उद्यानलाई सही उपयोग गर्नेसके स्थानीयवासीको आयआर्जनको स्रोत बन्न सक्ने उहाँले सुझाव दिनुभयो । “यहाँको बस्ती पिछडिएको छ, पहिले त स्थानीय उत्पादन बढाउन आवश्यक छ, उद्यानलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बनेमा रोजगारीसँगै आत्मानिर्भर बन्न सघाउछ”, काफ्लेले भन्नुभयो ।
यही वडामा रहेको चमेरो गुफा संरक्षणका लागि कार्यालयले चमेरा अवलोकन विन्दु बनाएको छ । चमेरा हेर्नलाई गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । चमेरा लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । सो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ ।
गतवर्ष विनियोजित रु २० लाख बजेटले ४०० मिटर रेलिङसहितको सिँढी र चमेरा अवलोकन विन्दु निर्माण गरिएको हो । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । निकट भविष्यमै सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको दृश्यावलोकन स्तम्भ, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होम स्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
“एक दिने पदयात्राका लागि यी गन्तव्य उपयुक्त छन्”, उहाँले भन्नुभयो, “पूर्वाधार थप र प्रवर्द्धनमा अब हाम्रो ध्यान हुनेछ ।” पाथर्दी गाउँ बोयर बाख्राको पकेट क्षेत्र हो । वडावासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताउनुभयो ।
सम्बन्धित खबर
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
तनहुँमा विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने शिक्षिका पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो