‘मलाई अन्याय गरियो’: डोवाटे विक [अन्तर्वार्ता]

अन्तर्वार्ता

‘मलाई अन्याय गरियो’: डोवाटे विक [अन्तर्वार्ता]

dobate-bk-cover

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोवाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनितीमा ल्याए थिए ।

२०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोवाटे विभिन्न राजनीतिक घटनाक्रमका साँक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साँक्षी बसेका डोवाटे गत शुक्रबार आफै पनि त्यसको सिकार बने । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोवाटेलाई मन्त्री नबनाईएको चर्चा छ । रामचन्द्र पौडेल गुटकै भएको कारण उनी मन्त्री बन्न पाउनुभएन । उनै डोवाटेसंग पत्रकार अशोक विश्वकर्माले पछिल्लो घटनाक्रमको बिषयलाई लिएर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

गण्डकी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झनु भएको छ ?

यो क्षण मेरो लागी निकै दुखद रह्यो । शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिंगो दलित समुदायमाथि गरिएको उपेक्षामा रुपमा लिनुपर्दछ । एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रुपमा पार्टीमा त्याग सर्मपण गरिदाँ अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरुलाई कसरी हेरिदो रहेछ भन्ने राम्रोसँग अनुभुत गरेको छु । झण्डै ४२ बर्षसम्म राजनितिक रुपमा सक्रिय भईरहदाँ यो पल निकै पिडादायी र अन्याय पुर्ण रहेको ठान्दछु ।

आफुलाई पार्टी र सहकर्मीबाट धोका अर्थात अन्याय भयो जस्तो लागेको छ होलानी ?

मैले भनि सके नि, म एउटा ब्यक्तिलाई लाई गरिएको छल मात्र हैन यो समुदायमाथिको अन्याय हो भनेर । मलाई त के नै हुन्थ्यो होला र ? केही दिन गाडीमा झण्डा हल्याएर हिडेको देख्नु हुन्थ्यो तर समुदाय र यो प्रदेशका विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नी । यो घटना समिक्षा गर्नुपर्ने विषय पनि हो जस्तो लाग्छ ।

पुर्वनिश्चित मन्त्रीहरुकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो जस्तो लाग्छ ?

यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन । सवैलाई थाहा भैसक्यो । यस विचमा जति पनि जानकार र मिडियाले सवैकुरा बाहिर ल्याईसकेको छ । प्रमुख विषय म माथि पुर्वाग्रह राख्ने साथीहरु र पार्टी भित्र मौलाएको गुठ उपगुठको असर हुनसक्छ ।

म शालीन स्वभावको मान्छे । अरुले भनेको विश्वास गर्ने मान्छे हुँ, संघर्ष गरेर हिँडें लामो समय । उल्टोपाल्टो नजान्ने मान्छे भएपनि गाह्रो हुने रहेछ राजनीतिमा ।

शुक्रबार भएको घटनालाई पार्टी भित्र नै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरु पनि छन् नी ? यो विषयमा तपाईको धारणा के छ ?

पार्टीमा रामचन्द्र पौडेलको जुन किसिमका छवि छ त्यसका विरुद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे यो जरुरी पनि छैन । म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मेरो स्वाभावले पनि यो सव हुन दिदैन्थ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसे त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन ।

निष्ठाको राजनिती गर्नेहरुलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ राजनितीमा भनेर बुझ्न सकिन्छ ?

त्यस्तो हुनुहुदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनिति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एक दिन यो विषयले पार्टी पंक्तिमा स्थान पाँउछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरु पार्टीमा हावि हुने भने हाम्रो पार्टी नेपाली काँग्रेसमात्र होइन कुनै पनि पार्टीमा लगनशिल भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ । अन्तत पार्टीको भविष्य रहदैन । अव मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनितिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन फेरी चरित्र पनि बलमिच्याई गर्ने स्वाभाव म मा छैन र यो पक्ष राजनितिका लागि नकरात्मक हो भन्ने पनि मलाई लाग्दैन ।

राजनितीमा बेला बखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ?

पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सवैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्दछ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनितीमा प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैरास्यता बाहेक के हुन सक्छ ।

राजनितिमा अवसर खोसिएको एक पात्र तपाई, अबको दिनमा सरकार र पार्टीमा तपाईको भूमिका कस्तो रहन्छ ?

पार्टी भित्र देखिएको यस किसिको क्रियाकलाको अन्तर विरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रुपमा विरोधका भाषा र कार्यक्रमहरु गर्नु एक कार्यकर्ताका लागि उचित होइन । सरकार । पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई ब्यवहारमा देखाउनु जरुरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितीलाई टार्न प्रदेश सरकार जे बोलेको छ त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीका सदस्य तथा प्रदेश सभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्त विपरित भएका कार्यहरुका सदनबाटै पनि विरोध हुन्छ ।

तपाईप्रति शुभेच्छा राख्ने शुभेच्छुकहरुलाई अन्तिममा के भन्न चाहानुहुन्छ ?

खास त्यस्तो भन्नुपर्ने केही छैन, तर शुक्रबारको घटना पछि म प्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई उर्जा मिलेको छ । यति लामो राजनितीक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकरात्मक रहेको पाएँ । म प्रति देखाउनुभएको चासोको लागि तपाईहरु सहित विशेष गरि मिडियालाई धन्यवाद ब्यक्त गर्न चाहान्छु । आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा तपाईलाई पनि धन्यवाद छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds