काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।
मंगलबार प्रधानमन्त्रीबाट बिदा हुने क्रममा देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘जनादेश त मेरै पक्षमा थियो, तर सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो, त्यसैले सरकार छाड्दैछु। सरकारबाट बाहिरिनुपरे पनि मलाई रत्तिभर दु:ख छैन। चार वर्षअघि पनि म यस्तै मध्य वर्षामा सरकारबाट बाहिरिएको थिएँ।’
उनले सरकारमा बस्दा आफूले गरेका कामप्रति सन्तुष्ट रहेको पनि बताए। सर्वोच्चले सांसदलाई ह्विप नलाग्ने भनेर दलीय प्रणालीलाई नै चुनौती दिने काम गरेको उनले बताए। ‘एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्ने भन्ने व्याख्या गम्भीर छ। अदालतको व्याख्यापछि राजनीतिक विकृति चुकाउनुपर्ने अवस्था आएको छ। अत्यधिक न्यायिक सक्रियतामार्फत प्रत्येक विषयमा हात हालेर मागै नभएका विषयमा पनि अगाडि बढेर न त गन्तव्यमा पुग्न सकिन्छ नत्र ठूलो भारी बोक्न नै सकिन्छ। वादी पक्षले माग दाबी नगरेकै विषयमा फैसला दिँदा जटिलता निम्त्याउँछ,’ उनले भने। अदालतको फैसलाका कारण सरकारबाट बाहिरिनुपर्यो भनेर यी प्रश्न नउठाएको उनले बताए।
प्रधानमन्त्री ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”
उनले आफूले नयाँ–नयाँ भिजनका साथ विकासको कामलाई तीव्र गतिमा अघि बढाएको पनि दाबी गरे । ‘देशको समृद्धि र विकासलाई ध्यानमा राखेर मैले इमान्दारिकताका साथ काम गरेको छु । अझ नयाँ-नयाँ भिजन दिएर विकासलाई तीव्र गतिमा अघि बढाएको छु,’ उनले भने ।
अदालतले राजनीतिक विषयमा हात हालेको छ
ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् ।
उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’
२०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम ल्याएको भन्दै उनले संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गरे ।
पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्नो ब्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको उनले बताए ।
एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्याले वस्तुत संविधान संशोधन काम गरेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अत्यधिक न्यायिक सक्रियता देखिएको भन्दै उनले यसले देशलाई गन्तव्यमा नपुर्याउने बताए । ‘अत्यधिक न्यायिक सक्रियता र प्रत्येक विषयमा हात हालेर न गन्तव्यमा पुग्न सकिन्छ , न त (अदालतले) त्यति ठूलो भारी बोक्न सक्छ ।’
कुन लोकतन्त्रमा एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष हुन्छ ?
सर्वोच्चको फैसलाले राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएको बताए । उनले सो फैसलाबाट कसैलाई विजेताको भाव उत्पन्न भए पनि त्यो क्षणभङ्गुर हुने दाबी गरे ।
तर फैसलाको पालना गर्न पार्टी स्पष्ट रहेको पनि उनले बताए । उनले नेपाली जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको संरक्षणमा चिन्तित रहेको बताउँदै अदालतको फैसलामा आफूलाई अलोकतान्त्रिक देखाएको भन्दै आश्चर्य व्यक्त गरे ।
उनले भने–‘हाम्रो मुख्य चिन्ता राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएर लोकतन्त्रमा असर पर्ने हो कि भन्नेमा छ । ७ दशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको विशेषता दलीय व्यवस्था पनि हो । जनताले राजनीतिक दलका घोषणा पत्र हेरेर अभिमत दिएर सत्तामा पुयाउँछन् । तर निर्वाचित भएको व्यक्तिलाई जुनसुकै पार्टीका उम्मेदवार भएको व्यक्तिलाई सत्तामा जान जसले पनि मतदान गर्न सक्छन्, त्यस्तो गर्दा उनीहरूमाथि कुनै ह्वीप लाग्दैन जस्ता कुरा र सांसदहरू दलका प्रतिनिधि मात्र हैनन् जस्ता व्याख्या यसले दलीय व्यवस्थालाई पनि चुनौती दिएको छ । एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन ।’
अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ
प्रधानमन्त्री ओलीले आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन्। उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।
उनले अहिलेको समयको आवश्यकता भनेकै सार्वभौमसत्तालाई बलियो बनाउँदै जानुपर्ने भए पनि त्यो हुन नसकेकोमा दुःख जनाए। उनले भने, ‘आजको राजनीति विपरीत दिशामा लान खोज्दैछ। बाँकी अवधि संसद चलोस्, शुभकामना छ। समयमै चुनाव होस्। अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ। यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित्र पात्रहरु छन्। उनीहरुको इतिहास, भूमिका देशलाई थाहा छ।’
अव फैसला जनताले दिने छन्
प्रधानमन्त्री ओलीले अव जनताको फैसलाको लागि आफु तयार भएको बताएका छन् ।कर्तव्य पालनाको यात्रामा निरन्तर जनतामा रहने बताउँदे जनताको विचमा जान डराउनु नपर्ने बताए ।
‘अव जनतामा जाने दिन आओस,‘उनले भने, ‘जनताले आफ्नो उचित फैसला दिने छन् ।’ आफु विगतमा पनि जनादेशबाट प्रधानमन्त्री भएर आएको बताउँदे उनले जनताभन्दा ठूलो कोही नहुने बताए ।
फेरि सूर्य बादल हटाएर उदाउनेछ
ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।
उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’
ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए । आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे ।
ओलीले भने, ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’
सम्बन्धित खबर
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर