माधव नेपालले आफ्नै निवासमा प्रचण्ड-देउवा बोलाएर भने- ‘अब म विपक्षी गठबन्धनमा रहन्नँ’

माधव नेपालले आफ्नै निवासमा प्रचण्ड-देउवा बोलाएर भने- ‘अब म विपक्षी गठबन्धनमा रहन्नँ’

Madhav Nepal Kumar

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिएका छन् । सोमबार साँझ उनकै निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउने भन्दै गठबन्धनमा रहन नसक्ने बताएका हुन् । नेपालले सर्वाेच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराए ।

‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैँ साथ रहन्छ, तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला ।’ बैठकपछि नेपाललाई उद्धृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले भने ।

बैठकबारे जानकारी दिँदै नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको बताए ।

पार्टी विवाद समाधानका लागि गठित दश सदस्यीय एकता कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि पनि नेपालले विपक्षी गठबन्धनको औपचारिक बैठकमा सामेल भएर आफ्नो समूह औपचारिक रूपमा बाहिरिने जानकारी गराएका हुन् ।

त्यसअघि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललाई नेता नेपालले आफू गठबन्धनको बैठकमा सहभागी भएर औपचारिक रूपमा बाहिरिने जानकारी गराउने बताएका थिए । नेपालको यस्तो प्रतिबद्धतापछि उपाध्यक्ष रावल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

रावलको सन्देशपछि ओलीले साँझ बोलाएको स्थायी कमिटीको औपचारिक बैठकलाई अनौपचारिक छलफलमा परिणत गराए ।

वरिष्ठ नेता नेपालले पार्टीको आन्तरिक समस्या समाधान गरेपछि मात्रै राष्ट्रिय राजनीतिमा ध्यान दिने बताएका थिए। सबैलाई मिलाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्न उनले देउवालाई सुझाएका थिए। एकलौटी रूपमा अघि नबढ्न समेत उनले देउवालाई भनेका थिए।

एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै नेपालले सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको पन्तको भनाइ छ ।

“एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ,” नेपालको भनाइ उद्धृत गर्दै उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ