पृथ्वीसुब्बा भन्छन्ः ‘१६ करोडको भ्रष्टाचार छोप्न ४ अर्बको ठेक्काको कुरो, जुन झुटो हो’ [भिडियो]

पृथ्वीसुब्बा भन्छन्ः ‘१६ करोडको भ्रष्टाचार छोप्न ४ अर्बको ठेक्काको कुरो, जुन झुटो हो’ [भिडियो]

UML Gandaki

गण्डकी प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा माओवादी, जसपा सम्मिलित सरकार बनेको एक महिना पुग्दैछ । बजेटमाथिको छलफलको पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी तथा पूर्व सत्तासीन दल नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले शनिबार पत्रकारहरुलाई डाकेर आफूमाथि लागेको आरोप र सरकारको एक महिनाको गतिविधिबारे आफ्नो धारणा राख्यो ।

पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको नयाँ सरकारको एकमहिना कार्यकर्ता पोस्न मात्र व्यस्त रहेको आरोप लगाए । वर्तमान सरकार भ्रष्टाचारको अभियानका साथ अगाडि बढेको पनि उनको आरोप छ ।

काँग्रेस, माओवादी जसपा र राजपाको गठबन्धन सरकार बन्ने बित्तिकै १० दिनभित्र १६ करोड सक्ने गरी रकमान्तर गर्नु नै भ्रष्टाचार भएको गुरुङको जिकिर छ । काँग्रेसका मुख्यमन्त्रीले पालिकालाई नदिई पहिल्यै आफ्नो जिल्लाको सभापतिलाई बोलाएर जिल्ला जिल्लामा एक करोड, डेढ करोडका दरले बाँडेको आरोप पनि गुरुङले लगाए ।

‘दश दिनमा रिलिज गरेर ठेक्कामा जाने भए प्रक्रिया पुर्याउनुपर्ने होला सानो रकम हो भने उपभोक्ता समिति बनाउनुपर्ने होला । त्यसपछि सम्झौता गर्नुपर्ने होला, उनले भने, ‘दुईचार दिनमै काम गर्न सक्छ ? त्यसकारण यो १६ करोडको मुद्धा, भ्रष्टचारको मुद्धा हुन्छ । त्यसैले सम्बन्धित निकायले यसमा ध्यान दिनेछ भन्ने हामीलाई लाग्छ ।’

वर्तमान सरकारको प्रवक्ता समेत रहेका सामाजिक विकासमन्त्री कुमार खड्काले यही साता पत्रकार सम्मेलनको आयोजना गर्दै गुरुङ सरकारले जाँदा जाँदै बजेटमा नपरेको योजनाका लागि साढे ४ अर्बको ठेक्का लगाएको आरोप लगाएका थिए । यही भ्रम चिर्न भन्दै एमालेले आज पत्रकारसँग भेटघाट गरेको हो । गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदान अन्तर्गतको रहेको पनि प्रष्ट पारे ।

गुरुङले आफू नेतृत्वको सरकार हुँदा नियम, कानून विधि र प्रक्रिया पुर्याएर काम गरेको दोहोराए । योजना सहित बजेट तथा नीति कार्यक्रममा आएको कुरा विकासमा समावेश भएका कुरालाई आधारमा राखेर एकैपटक टेण्डर गर्न नसक्ने भएकाले बाँकी खण्ड खण्ड गरेर अघि बढेको पनि उनले स्पष्ट पारे । वर्तमान सरकारले आरोप लगाएको १० मध्ये आठ योजनाको टेण्डरका लागि चैत र वैशाखमा सूचना निकालिएको पनि एमालेले प्रमाण देखाएको छ ।

एमाले विरुद्ध झ्याली पिट्नुको औचित्य छैन भन्दै गुरुङले मन्त्री खड्काको अभिव्यक्ति सरासर झुट रहेको बताए । पूर्ववर्ती सरकारका बहुवर्षीय योजनालाई अघि नबढाउने मनसायले यस्ता झुटो तर्क दिएको उनले बताए ।

वर्तमान सरकारले अध्याँरो कोठामा बसेर शासन गरेको उनको आरोप छ । कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार एक महिनासम्म विस्तार हुन नसकेको प्रति कटाक्ष गर्दै उनले ‘वान म्यान क्याबिनेट’ बनाएर अँध्यारो कोठाबाट शासन गरेको उल्लेख गरे । काँग्रेस सरकार र भ्रष्टाचार भन्ने विषय इतिहासदेखि नै नौलो नरहेको उनको भनाई छ ।

फरक प्रसंगमा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बन्नासाथ आएको बजेट बजेट नभई लिस्टो मात्र भएको बताए । आफूहरुले सुरु गरेको आयोजनालाई सम्बोधन भएन भने र जनभावना अनुरुप बजेट नआए २७ सांसदको ठूलो पार्टी एमाले दरिलो प्रतिपक्षको रुपमा विरोधमा उत्रने बताए । अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र सरकारलाई सहयोग गर्नसक्ने उनको भनाई छ । गुरुङले आफ्नो नेतृत्वको सरकारको तुलनामा वर्तमान सरकार सञ्चालन गर्न निकै कठिन रहेको समेत औंल्याएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ