पर्वत । केही दिनदेखिको भारी वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिएका छन्।
शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको पराजुलीले बताए। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्यावियन पर्खालसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताए। यही असार १ गतेको बाढीले उक्त क्षेत्रमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको थियो भने नौ घर विस्थापित भएका थिए ।
कालीगण्डकीको बहाबले अहिले शिला र आसपासमा सत्तललगायतका संरचना डुबानमा परे पनि बजारसम्म आइनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले स्थानीयवासी भने रातभर जाग्राम बसेका थिए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा परेको हो । सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका हुन् ।
मध्यपहाडी राजमार्ग अवरुद्ध
ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेछ । पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपछि सडक वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिए।
सडक अवरुद्ध हुँदा धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडौँ लगायतका ठाउँका लागि छुटेका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धवलागिरितर्फ आएका सवारी साधन पर्वतको दोबिल्लामा अलपत्र बनेका छन् । सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् भने गए रातिदेखि इन्टरनेट र टेलिफोनसमेत अवरुद्ध भएकामा केहीबेर अघि मात्र चालु भएको हो ।
सम्बन्धित खबर
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु
पत्रकार महासंघ पर्वत अध्यक्षमा सापकोटा
पर्वतमा १२ दिनदेखि बेपत्ता वृद्ध मृत फेला
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी