यूरो कपः स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

यूरो कपः स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

Italy-win8

एजेन्सी – इटाली यूरो कपको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । लगत्तै ड्यानी ओल्मोले पनि स्पेनको पहिलो प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरे । दोस्रो प्रहारमा इटालीका आन्द्रीए बेलोट्टी र स्पेनका जेरार्ड मोरेनो दुवैले गोल गरे ।

इटालीका लिओनार्डो बोनुचीले तेस्रो प्रहारमा गोल गर्दा स्पेनका थियागोले पनि कुनै गल्ती गरेनन् । फेडेरिको बर्नार्डेस्कीले इटालीको चौथो प्रहारमा गोल गर्दा स्पेनका तर्फबाट भने अल्भारो मोराटाले गोल गर्न सकेनन् । मोराटाको प्रहार डोनारुम्माले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै फाइनलमा स्थान पक्का गरे ।

६० औं मिनेटमा फेडेरिको किएजाको गोलमा इटालीले अग्रता लिएको थियो । इटालीले एकातर्फ गोलको अवसर सदुपयोग गर्न नसक्दा लगत्तै अर्को तर्फ स्पेनले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले सुन्दर गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

इटाली दशौं फाइनल खेल्दै

फाइनलमा स्थान बनाएसँगै इटालीले इतिहासमा दशौं पटक ठूलो प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको छ ।

इटालीले हालसम्म विश्वकपमा ६ पटक र युरोमा ४ पटक फाइनलमा स्थान बनाएको छ । विश्वकपमा ४ पटक उपाधि जितेको इटाली युरोमा भने एक उपाधिमा नै सिमित छ । इटालीले युरोको पछिल्लो दुवै फाइनलमा हार बेहोरेको छ । इटाली पछिल्लोपटक सन् २०१२ मा स्पेनसँग फाइनलमा पराजित भएको थियो ।

इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप उपाधि जितेको थियो । सन् १९७० र १९९४ मा भने इटाली फाइनलमा पराजित हुन पुगेको थियो । दुवै अवसरमा इटाली फाइनलमा ब्राजिलसँग हार्न पुगेको थियो ।

युरोमा भने इटालीले सन् १९६८ मा उपाधि जितेको थियो । सन् २००० मा इटाली फ्रान्ससँग पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।

इटालीले दशौं पटक फाइनल खेल्दा सर्वाधिक फाइनल खेल्ने कीर्तिमान भने जर्मनीको नाममा छ । जर्मनीले हालसम्म युरो र विश्वकप जोडेर १४ पटक फाइनल खेलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ