बागलुङ । मगर जातिको बाहुल्य रहेको ताराखोला गाउँपालिका–२ अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिएको छ। गत मङ्सिरदेखि निर्माण थालिएको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ। आगामी फागुनभित्र निर्माण सक्ने लक्ष्य छ। बीस २० कोठे सङ्ग्रहालय भवनको दोस्रो तला अहिले ढलान भइरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। रु दुई करोड १६ लाख बजेटमा जुम्ली निर्माण सेवाले सङ्ग्रहालय बनाउने जिम्मा पाएको थियो ।
सङ्ग्रहालय निर्माणमा सङ्घ सरकारसँग गाउँपालिकाको लागत साझेदारी छ। गाउँपालिकाको रु ५० लाख, पूर्वसांसद देवन्द्र पौडेलको ‘सांसद विकास कोष’को रु ५० लाख र बाँकी बजेट पर्यटन मन्त्रालयले दिएको हो ।
परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने अध्यक्ष घर्तीले बताएका छन्। “मौलिक कला, संस्कृतिको संरक्षण होस् भन्ने हाम्रो उद्देश्य हो”, उनले भने, “सङ्ग्रहालयले नयाँ पर्यटकीय आकर्षण पनि थप्छ ।”
सङ्ग्रहालयको पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिने भएको छ। राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पुर्याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्र जस्ता सामग्री दोस्रो तलामा राख्ने योजना गाउँपालिकाको छ।
तत्कालीन माओवादी सशस्त्र युद्धमा ताराखोलाका २७ जनाले शहादत प्राप्त गरेका थिए । सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातीय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
सङ्ग्रहालयलाई पछि सांस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यक्ष घर्तीले बताए। सांस्कृतिक एकता र भाइचारालाई पनि सङ्ग्रहालयले प्रतिबिम्वित गर्नेछ ।
बहुसांस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने स्थानीय शिक्षक एवं मगर अगुवा बिर्बलाल घर्तीले बताए। सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले गरेको लगानी स्वागतयोग्य रहेको उनको भनाइ छ।
मगर जातिका अनेक परम्परा, रीतिथीति र पर्व ताराखोलामा प्रचलित छन् । ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगरले ताराखोलामा थातथलो बसाएका थिए । तीनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्राएका पर्व र मेलालाई अहिलेका पुस्ताले पनि जोगाइरहेका छन् ।
ऐतिहासिक भुस पोल्ने पर्व, भदौरे सिस्नो खोस्ने पर्व, असारे मेला, बर्खे मेला आदि ताराखोलाका रैथाने संस्कृति हुन् । हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ ।
सङ्ग्रहालय निर्माणसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्रमासमेत ताराखोलाले फड्को मारिरहेको छ। यसअघि सुविधासम्पन्न सभागृह बनाइसकेको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई पनि तीब्रता दिएको छ ।
सम्बन्धित खबर
मध्यपहाडी लोकमार्ग: धमाधम कालोपत्र हुँदै बागलुङ खण्ड
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा