तनहुँमा नमूना गाउँका कृषकलाई घाँसका बिरुवा

तनहुँमा नमूना गाउँका कृषकलाई घाँसका बिरुवा

biruwa

दमौली । मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका–२ स्थित देउराली, दुम्कोट, घुर्लीछाप, घ्याछापका कृषकलाई घाँसका बिरुवा, औषधि, झोलमलका लागि ड्रम र जोख्ने मेशिन वितरण गरिएको हो ।

गण्डकी प्रदेशको भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयमार्फत गत फागुनदेखि उक्त चार गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँको कार्यक्रम सञ्चालित छ । यस कार्यक्रममार्फत उक्त चार गाउँका १०५ घरधुरी आबद्ध रहेका कृषि प्राविधिक लुना अर्यालले जानकारी दिए।

उनका अनुसार ती कृषकलाई करीब ३२ हजार डाँलेघाँस र ६२ हजार भुइँघाँसका बिरुवा वितरण गरिएको छ । त्यस्तै मलका लागि २५ ड्रम, चार गाउँका लागि एक÷एक गरी चार बोयर जातका बोका, होर्डिङबोर्ड र दुई जोख्ने मेशिन वितरण गरिएको छ । बाख्राका लागि औषधि पनि वितरण गर्ने तयारी गरिएको अर्यालले बताए।

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम चार वर्ष सञ्चालन हुनेछ । पहिलो वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसमा ८५ प्रतिशत मन्त्रालयले सहयोग गरेको छ भने १५ प्रतिशत समूहले लागत साझेदारी गर्नुपर्नेछ । यस कार्यक्रममार्फत देउरालीका ५०, दुम्कोटका २३, घुर्लीछापका १७ र घ्याछापमा १५ घरधुरी आबद्ध छन् ।

कृषि प्राविधिक अर्यालका अनुसार यस वर्ष उक्त गाउँमा बाख्रापालनका लागि आवश्यक सहयोग गरिएको छ । “यस वर्षको बजेट बाख्रापालनमा लक्षित छ, आगामी वर्ष तरकारी, फलफूल लगायतका लागि सहयोग गरिनेछ”, उनले भने, “कृषक जागरुक र उत्साहित छन् ।”

घिरिङ बाख्रापालक कृषक समूहकी अध्यक्ष विमला आलेले कार्यक्रम लागू भएपछि यहाँका कृषक व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यहाँका कृषकले कम्तीमा १५/२० बाख्रापालन गर्दै आएका छन् । “यो कार्यक्रम कृषकमैत्री छ, निर्वाहमुखी रुपमा मात्रै कृषि र पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बन्न प्रेरित गरिएको छ”, उनले भने।

प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री किरण गुरुङको सिफारिसमा मन्त्रालयले यस गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका रुपमा छनोट गरेको थियो । त्यसका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो । सोही बमोजिम यहाँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायत गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds