म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।
घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए।
“यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौँ । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएको थियो,” उनले भने, “घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।”
रघुगङ्गाको रु ४९ लाख अनुदान सहयोग र स्थानीयवासीको रु १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।
खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ । आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताए।
“धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौँ पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो”, उनले भने, “अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौँ । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।” वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा रु ५० लाख विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।
“पहिलो वर्ष सिजलगाउँ र देउपूर्णमा निर्माण गरिएको खानेपानी आयोजनालाई सुधार र व्यवस्थित गर्दैछौँ”, उनले भने, “आगामी आर्थिक वर्षमा रिनिरौतारी, माझखर्क र चौरका सबै घरमा खानेपानी वितरण गर्न रु २५ लाख विनियोजन भएको छ । साझपानी, हटिया, मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गरिरहेको छ ।”
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
म्याग्दीका सडक योजनामा बजेट अभाव
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको रत्नेचौर गाउँकाे तोरीबारीमा ‘टिकटकर’को भीड
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी