कालीकोट । जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्न थालिएको हो ।
जिल्लालाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीय जडीबुटीको उत्पादनलाई प्राथमिकतामा राखी औषधि उत्पादन गर्न थालेको कार्यालयले जनाएको छ । बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए।
“स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँगो मूल्यमा आयुर्वेद औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उनले भने, “हामीले स्थानीय जडीबुटीको प्रयोग गरेर नै आयुर्वेद औषधि उत्पादन गरेका हौँ ।”
अहिले आयुर्वेद औषधालयले स्थानीय जडीबुटीको प्रयोग गरेर कोरोनाविरुद्धको औषधिमा गुर्जो, अमला, काफलको बोक्रा, जामुन जस्ता स्थानीय जडीबुटीबाट दमका रोगीलाई र कोरोनाका बिरामीलाई लक्षित गरी उत्पादन भइसकेको वरिष्ठ वैद्यले जनाए। “उत्पादित औषधिमा कोभिड अस्पताल मान्ममा बिरामीमा प्रयोगसमेत भइरहेको छ”, उनले भने, “जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णालीमा यहीको आयुर्वेद औषधिको प्रयोगमा ल्याउनुपर्छ ।”
सङ्घीय सरकारले स्थानीय जडीबुटीबाट औषधि उत्पादन गर्नका लागि केही बजेट पठाएपछि औषधिमा उत्पादन हुन थालेको वैद्य पाण्डेले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्षबाट व्यवस्थित रुपमा आयुर्वेद औषधि उत्पादन गर्न थालिएको छ । औषधालयले अश्वगन्धा बनाउन अश्वगन्धा लगायतको सम्मिश्रण गरी बनाउँछ भने अमलाबाट आमलकी, हर्रो–बर्रो तथा अमला मिसाएर त्रिफला बनाउँदै आएको छ ।
यस्तै हिम्वास्टक औषधि बनाउन हिंग, मरिच, सुठोलगायत कच्चापदार्थ मिसाइन्छ । अविपतिकरमा निशोथ, त्रिफला, तेजपत्ता, अलैँची र ल्वाङ्ग मिसाइने गरेको छ । कुरीलोबाट शतावरी तथा घोडमर्चा, गन्नाइनो, तुलसी, लेमन ग्रास, अलैँची, गुर्जो आदि मिसाएर अमृत पेय र देवदारु, धुदेलो, अर्डर तेल आदिबाट बेदनाशामक तेल बनाउने गरिएको छ । औषधालयले नीम, चिराइतो आदिबाट पीत्तहर तथा हर्रो, कालोनुन आदिबाट विरेचक र बेल, धाँइरोको फूल, ज्वानो, धनियाँ, जिरा आदिबाट विल्वपाक, तेजपत्ता, अलैँचीलगायतबाट सित्तोपलादि औषधि बनाउँदै आएको छ ।
भण्डारण नहुँदा समस्या
कालीकोटमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या हुने गरेको छ । पर्याप्त जडीबुटी पाइने भए पनि अहिलेसम्म सरकारीस्तरबाट सङ्कलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडीबुटी खेर जाने र विदेशमा अवैध निकासीसमेत हुने गरेको छ ।
कर्णालीमा १४७ जातका बुडीबुटी पाइने अनुमान गरिए पनि प्रशोधन त परको कुरा सङ्कलन र भण्डार गर्ने ठाउँसमेत नभएको तथा भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । यहाँका अधिकांश जडीबुटी बाह्य देशमा निकासी हुने गरेको कर्णाली जडीबुटी उत्पादक सहकारी संस्था तथा प्रशोधन उद्योग कालीकोटका अजबहादुर गिरीले बताए। “सरकारले जडीबुटी सङ्कलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडीबुटी विदेशमा कौडीको भाउमा जान्छ”, उनले भने, “आफ्नै लगानीमा गरिएको सङ्कलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने त्यो राख्न भने चुनौती हुन्छ ।”
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते