अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

corona-death

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा भएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए।

यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले गरेका योगदानको चर्चा गरेका थिए। असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश) को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ