दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्रे शुरु

दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्रे शुरु

pitch kalopatre

पर्वत । काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिए।

आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले जानकारी दिए । यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेले बताए।

गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उनको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का इञ्जीनियर प्रेमहरी पराजुलीले बताए। पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि रु ६१ करोड बजेट रहेको छ ।

दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताए।

फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका नागरिकहरुलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds