तनहुँ । गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा बहाव बढेपछि रोकिएको हो ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। “पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उनले भने, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ । असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताए ।
सिग्देलका अनुसार तनहुँतर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पातर्फको काम हुन बाँकी छ । दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको छ ।
कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । वृद्धको उद्धार तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्धार गरेका छन् । गाउँपालिकाभित्र दुई दशक अगाडिदेखि बसोबास गर्दै आउनुभएका ती वृद्धको अध्यक्ष थापाले उद्धार गर्नुभएको हो । एक्लै बस्दै आउनुभएका कृष्णबहादुर न्यौपाने केही समयदेखि बिरामी भएपछि थापा आफै घरमा पुगेर उनको उद्धार गरेका हुन् । ती वृद्धलाई मानव सेवा आश्रममा पठाइएको छ । देवघाटस्थित पुरानो झोलुङ्गे पुलमा बसेर दैनिक गुजारा गर्ने न्यौपाने दोहोरो कुरा गर्न नसक्ने, कान कम सुन्ने, आँखा पनि कम देख्ने गर्थे । उनी २० दिनदेखि बिरामी भएपछि घरमा नै बस्दै आएका थिए । वृद्धसँग रु पाँच हजार रहेकाले उक्त रकम पनि आश्रमलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकास्थित दुई औषधि पसल बन्द गराएको छ । मापदण्ड विपरित सेवा दिएपछि प्रशासन कार्यालयले दुई औषधि पसल बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार धर्मसेवा मेडिकल र फेमिली स्वास्थ्य क्लिनिक बन्द गराइएको छ । अनुगमनका क्रममा डाक्टर बिना बिरामी राखेर उपचार गरेको पाइएपछि ती मेडिकल बन्द गराइएको बरालले बताए।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते