काठमाडौँ । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो ।
महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे।
“हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्”, उनले भने ।
सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासङ्घको भनाइ छ । प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन सरकारी बजेटले सम्बोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रम सराहनीय रहेको अध्यक्ष शाक्यले बताए ।
यस्तै महासङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनुपर्ने महासङ्घको सुझावप्रति बजेट मौन रहेको र सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने महासङ्घको सुझावलाई बेवास्ता गरिएको महासङ्घले जनाएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी