बागलुङ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ ।
दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन मुनि गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । लगातारको चार दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकीमुनीको सडकसमेत बन्द गरेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए। पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवासमेत प्रभावित हुनसक्ने उनको भनाइ छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको र सडकसमेतको विकल्प खोज्नुपर्ने अवस्था छ ।
“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले त झन पहिरो बढेर सडकसमेत पुरेको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने, “भवन निर्माण गर्दा उपयुक्त जग्गा छनोट नभएका कारण र अव्यवस्थित सडकका कारण स्वास्थ्यचौकी पहिरोको जोखिममा परेको छ ।”
तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराएपछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गरेका थिए । नगरप्रमुख पौडेलले ततलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्यचौकीको पहिरो रोकथाम गर्ने प्रतिवद्धता जनाएका छन् । तत्कालै समस्याको समाधानतर्फ नलाग्ने हो भने स्वास्थ्य चौकी विस्थापित हुने खतरा भएको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीको अग्रभागको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्नु पूर्वसावधानी नअपनाउँदा भएको स्थानीयको भनाइ छ । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपयुक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिए।
झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घरसमेत उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।
सम्बन्धित खबर
बागलुङ बलेवाको गणेश मावि: जहाँ शहरका विद्यार्थी पढ्छन्
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
स्वास्थ्यमन्त्रीकै गृहजिल्लामा मनोचिकित्सक अभाव, उपचार प्रभावित
चार पटक म्याद थप्दासमेत सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित
तरकारीखेती गरेर जीविकोपार्जन गर्दै बागलुङका किसान
सोलार जोडिएपछि उज्यालो बन्यो निसेलढोर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी