बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

badhi

मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ । चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताए । “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उनले भने।

खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताए। घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उनको भनाइ छ । बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उनले बताए।

नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ । अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गरेका थिए । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ ।

त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् ।

बाढीले पानी आपूर्तिमा समस्या

त्यस्तै घट्टेखोलाको बाढी नयाँबजारको बस्तीमा पसेपछि खानेपानी आपूर्तिमा समस्या भएको छ । बाढीले खानेपानीको पाइप बगाएसँगै यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन । आपूर्ति नहुँदा पिउने पानी पाउनै मुस्किल भएको स्थानीयवासी बताउँछन् । चामे नयाँबजारका ४० घरधुरीलाई पानीको अभावले काकाकुल बनाएको छ ।

कोरोनाको कहरमा बाढीले पानीको समस्या समेत थपिँदा अझ कठिन बनाएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि लागिपरेको अवस्थामा अर्को विपत्तिले कठिन अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

स्थानीयवासीका लागि गाउँपालिकाका अध्यक्ष घलेको पहलमा ४० घरधुरीलाई एक÷एक कार्टुन मिनरल वाटर वितरण गरिएको थियो तर कुनै परिवारका सदस्य धेरै रहेको अवस्थामा समस्या अझ थपिएको छ । पानीको मुहानबाट बस्तीमा ल्याइएको पाइपको मर्मत कार्य भइरहेको अध्यक्ष घलेले बताए।

दुई÷तीन दिनभित्र पानी आपूर्तिमा सहज हुने उनको भनाइ छ । “मर्मतसँगै पानी ट्याङ्कीसमेत सरसफाइ गरी उपभोक्तासम्म पु¥याइनेछ”, उनले भने । पानीको अभावले बस्तीमा समस्या उत्पन्न भएपछि छिटो पानी ल्याउने गरी काम भइरहेको छ । उक्त बस्तीका सर्वसाधारणले हाल मिनरल वाटरको भरमा जीवनयापन गरिरहेका छन् ।

सडक अवरुद्ध

यसैबीच बाढीले बेँसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका–१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले उक्त सडकखण्डको पुल बगाउँदा अवरुद्ध बनेको सडक निर्माणसमेत हुन सकेको छैन । पुल बगाएपछि मनाङबाट लमजुङ जाने र लमजुङबाट मनाङ आउने अत्यावश्यक वस्तुका सामग्री ढुवानी गर्ने सवारीसाधनको समेत आवतजावत बन्द भएको छ ।

मनाङका मुख्य सडकसँगै अन्य सडकका अधिकांश खोलामा काठेपुल प्रयोग भएका छन् । मनाङवासीलाई सदैव काठेपुलको जोखिममा यात्रा गर्नुपर्ने हुन्छ । अझ वर्षा लागेसँगै जोखिम बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । यसवर्षको मनसुन खतरायुक्त भएमा अझ बढी जोखिम बढ्ने देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds