बलेवा । बाग्लुङ ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ ।
बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा चलेर यहाँ यस्तो भएको भने होइन । अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी छ ‘आत्मबल बढाउन सके रोगसँग लड्न सकिन्छ ।’ त्यसैले उनीहरुले कहिले पञ्चेबाजाका गीत लगाएर बिरामीलाई नाच्न लगाउँछन् त कहिले योगाभ्यास गराउँछन् ।
कोरोनाका बिरामीका लागि योग महत्वपूर्ण हुन्छ । मनोरञ्जन र शरीरमा उत्साह भर्ने क्रियाकलापले उनीहरुको शरीरलाई फुर्ती तुल्याउने ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदीत थापा बताउछन्। अस्पतालमा सङ्गीतको राम्रो व्यवस्था मिलाइएको छ । बिरामीको रोजाइअनुसारका गीत बजाउने जिम्मेवारी भने स्वास्थ्यकर्मीको हो ।
“एलोपेथिक र आयुर्वेदिक औषधि सबैको प्रयोग स्वास्थ्यकर्मीले प्रोटोकलअनुसार गरिरहेका छन्”, थापा भन्छन्, “अहिलेसम्म यहाँबाट बिरामी बाहिर पठाउन परेको छैन, उहाँहरु जान पनि मान्नुहुन्न ।” योग, ध्यान र व्यायामले बिरामीलाई रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता विकास गर्न सहयोग गरेको थापाले बताए। आयुर्वेदिक पद्धति, योग, ध्यान र बिरामीले खाने खानाले पनि उनीहरुको प्रतिरक्षात्मक क्षमता बढाउन सहयोग गरेको उनले जानकारी गराए।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोरोना महामारीबारे सचेतना जगाउन धौलागिरि आयुर्वेद औषधालयलाई जिम्मेवारी दिएपछि औषधालयले रोकथाम, नियन्त्रण र सङ्क्रमितको उपचारमा आयुर्वेद चिकित्साको उपयोगिता विषयक छलफल शुरु गरेको छ । छलफलमा सहभागीले आयुर्वेदिक औषधिको प्रयोगले बिरामीको उपचारमा सहज भएको बताए ।
बरेङ गाउँपालिकाले निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा प्रमुख चिकित्सकको जिम्मेवारी डा लक्ष्मी पन्थीले सम्हालेका छन् । पन्थीका अनुसार बरेङमा पनि ताराखोलामा जस्तै व्यायाम, आयुर्वेदिक औषधि र योग तथा मनोरञ्जनको व्यवस्थापन गरिएको छ ।
“हामीले शारीरिक अभ्यास गराउने, वाफ लिने, आयुर क्वाथ र त्रिफला चूर्णको प्रयोग गरेका छौँ, जसको नतिजा राम्रो आयो”, पन्थी भन्छन्, “स्वास्थ्यकर्मी नै कोभिड हुँदा गरिएको प्रयोगबाट नतिजा राम्रो भएपछि अहिले सबैलाई त्यसै गरेका छौँ ।” बरेङको अस्पतालमा भर्ना भएका बिरामीलाई दिनमा एक पटक आयुर क्वाथ दिने गरिएको छ ।
“मनोबल र प्रतिरक्षा प्रणाली सुदृढ होस् भन्ने गरी साथीहरु काम गरिरहेका छन्”, धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा सरोजकुमार रायले भने, “योग र औषधिले क्षमता विकासमा सहयोग गरेको पाइयो ।” भर्चुअल छलफलमा सहभागी भएका स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कारोना रोकथाम तथा नियन्त्रणका लागि धेरै प्रयास भएको बताए । स्वास्थ्य मन्त्रालयले योगाभ्यासलाई रोगसँग लड्ने क्षमता विकास गर्ने विधि भनेकाले होम आइसोलेशनमा समेत योगाभ्यास गर्न सुझाव दिए।
सम्बन्धित खबर
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो