निषेधाज्ञामै नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र धमाधम

निषेधाज्ञामै नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र धमाधम

pitch kalopatre

लमजुङ । कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररुपमा अघि बढिरहेको छ । छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनीयर सुमन गिरीले बताए ।

उनले भने, ‘‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ । सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ ।’’ जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो । यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताए ।

धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उनको भनाइ छ । नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ । कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि शुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो ।

यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ । सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ । गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनीयर रिमालको भनाइ छ ।

उनका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करीब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, भैँसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न स्थानमा हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ । यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ । यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds