महोत्तरी । लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।
भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।
“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा-यो सहनै परेको छ”, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्छन्, “रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?”
बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउछन् । “पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने?”, महतोको अजङ्गको प्रश्न छ ।
लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउछन् । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।
वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् । कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पु-यइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते