‘अरुको दाबी किर्ते थियो, प्रधानमन्त्री मैले पाउनुपर्थ्यो’: ओली

‘अरुको दाबी किर्ते थियो, प्रधानमन्त्री मैले पाउनुपर्थ्यो’: ओली

kp-oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रपति समक्ष गरेको दाबी नै सही रहेको र आफूले नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धले भने फर्जी दाबी लगेको भन्दै कटाक्ष गरेका हुन् ।

त्यस्तै राष्ट्रपति कार्यालयले आफू पक्षले पनि पछि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार नभएर नै प्रधानमन्त्री नबनेको बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अन्य दलहरुले एमाले र जसपा फुटाउन खेल खेलेको बताए । त्यस्तै अन्य दलले किर्ते गरेर दाबी पेश गरेको बताए ।

‘अरुको अलोकतान्त्रिक दाबी हो । किर्ते दाबी हो । दलहरुभित्र खेलेर, दलहरु फुटाएर, डस्टबिनमा फ्याक्नुपर्नेकुरा लगेर राष्ट्रपतिकोमा लगेर प्रधानमन्त्री बन्छ ?’ प्रधानमन्त्री ओलीले भने ।

माधव नेपाल जस्तो ङिच्च दाँत देखाउने निर्लज्ज मान्छे दुनियाँमै छैन

ओलीले एमाले नेता माधवकुमार नेपाल जति निर्लज्ज नेता दुनियाँमा कोही पनि नभएको बताए । आफ्नो दलको प्रधानमन्त्रीविरुद्ध विपक्षी दलसँग मिलेर जानुले नेता नेपाल दुनियाँमा नै सबैभन्दा निर्लज्ज नेता भएको बताए ।

ओलीले भने – ‘‘आफ्नै पार्टीको अध्यक्ष, संसदीय दलको नेता एवं प्रधानमन्त्रीलाई हटाएर र प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउनका लागि निर्लज्ज भएर कुँदेको यो लोकतान्त्रिक आन्दोलनमै छैन कहीँ । कहीँ हुँदैन यस्तो । छैन । जो माधव नेपालको नेतृत्वमा निर्लज्ज प्रर्दशन भयो । यस्तो रेकर्ड दुनियाँमा छैन । कमसेकम म बस्न सक्दिन भनेर इमान देखाउछन् । म नेकपा एमालेको वरिष्ठ नेता भएर लाजमर्दाे भएर कोही पनि जाँदैन क्या ! एमालेको नेताविरुद्ध विपक्षी नेताको पक्षमा हस्ताक्षर गरेर अनि म एमालेको वरिष्ठ नेता भनेर ङिच्च दाँत देखाएर बस्न, यस्तो निर्लज्ज दुनियाँमा देखिएको छैन ।’

नेपाल समूहले दर्ता गरेको भनिएको पार्टीलाई ‘डुब्लिकेट’ पार्टी दर्ता गरिएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । ‘डुब्लिेकेट’ पार्टी दर्ता गराएको छ । कति छद्म खेल । छद्म पनि के होर पत्रैपत्र । षड्न्यत्रै षड्यन्त्रै, धोकै धोका, बेइमानी नै बेइमानी । निर्लज्जै निर्लज्ज । अब हामीले स्पष्टीकरण सोधेका छौँ र तदर्थ निलम्बनको कारबाही थाल्छौँ ।’

राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी लाग्दैन 

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने बताए। उनले संविधानको धारा ७६ (५) मा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिइएको बताए।

उनले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन राष्ट्रपतिले समय दिएको तर दाबी सदर हुन नसक्ने अवस्था नदेखेको बताए। ‘राष्ट्रपति आफूले राष्ट्रपतिको अधिकारको प्रयोग संविधानमा अन्यत्र व्यवस्था छैन। तर, यस ठाउँमा राष्ट्रपतिले ठहर गर्ने कुरा हो। राष्ट्रपतिले ठहर गर्नुभयो। र राष्ट्रपतिले ठहर गर्दा नपुगेको देख्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘म कानुनविद् र संविधानविद् मित्रहरुलाई र बहसमा उत्रिएका बौद्धिक समुदायलाई आग्रह गर्न चाहन्छु। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो। त्यसमाथि कहीँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन। कुनै उजुरी लाग्दैन त्यस प्रश्नमा।‘

उनले अहिले राष्ट्रपतिको अधिकार पनि नमान्ने, राष्ट्रपतिको पद र मर्यादा पनि नमान्ने गरिएको भन्दै आलोचना गरे। उनले आजै प्रकाशित एउटा कार्टुनको पनि आलोचना गरे। ‘आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई यसो खल्तीमा राखेको। कति आनन्द आएको होला। लोकतन्त्रका नाउँमा यस प्रकारका घृणित क्रियाकलाप’, उनले भने।

उनले प्रेत संस्थाको विकराल र विशाल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्वको, गणतन्त्रको एउटा प्रतीकको रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाको लगेर सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने काम भएको भन्दै त्ययसलाई लोकतन्त्रले दिएका स्वतन्त्रताका हकको दुरुपयोग गरिएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ