शुरु भयो माधव नेपाल पक्षलाई कारबाही प्रक्रिया

शुरु भयो माधव नेपाल पक्षलाई कारबाही प्रक्रिया

kp-oli-madhav-nepal_

काठमाडौँ। पछिल्लो राजनीतिका घटनाक्रम सँगै अब नेकपा एमालेले माधव नेपाल समूहलाई कारबाही प्रक्रिया समेत शुरु गरेको छ। जसको सुरुवात राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बादललाई भोट नहाल्ने १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णयबाट भएको छ ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरूले आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउनु पर्ने छ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरीत नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारे स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले बताएका हुन्।

अब पार्टीलाई स्पष्टीकरण दिनुपर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् ।

यदि तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण दिएनन् भने उनीहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने समेत निरौलाले बताएका छन् ।

सुर्य थापाको नजरमा माधव नेपालका ५ अपराध

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव कुमार नेपालले पाँच अक्षम्य अपराध गरेको सामाजिक सञ्जालमा लेख्दै सार्वजनिक गरेका छन् । सूर्य थापा मिल्ने भन्दा पनि भाँड्ने पात्रका रुपमा छाप छाडेका छन् ।

१. कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग ।

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन ।

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ ।

४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टी विरोधी व्यक्तिलाई मतदान ।

५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ