पोखरा । तीन हप्तादेखि लकडाउन छ । १५ बैशाखदेखि निरन्तर छ । हुनेखानेलाई त आराम छ । हुँदा खानेहरुलाई न माम छ, न दाम छ । सम्पन्नलाई त रोगको मात्र डर हो, विपन्नलाई रोगभन्दा भोकको बढी डर छ ।
गण्डकी प्रदेशकै एकमात्र डेडिकेटेड कोभिड हस्पिटल ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ मा प्रायः मध्यम र निम्न आर्थिक अवस्थाकै बिरामी भर्ना भएका छन् । उनीहरुले गत आइतबारदेखि आजसम्म बेलुकीको खाना बसेकै ठाउँमा निःशुल्क खान पाए । अब भोलिदेखि टुंगो छैन । अस्पताल परिसरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि पाँच दिन अघिदेखि विवेकशील साझा पार्टीका उर्जाशील युवाहरुले ‘कोभिड बिरामीलाई तातो भात’ अभियान सञ्चालन गरेका थिए ।
उनीहरुले अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक झण्डै २ सय जनालाई खाना खुवाउँदै आएका हुन् । तर ५ दिनमा २ पटक विज्ञप्ति निकालेर कास्की प्रशासनले भाँजो हालेको छ । प्रशासनको यो अनुदार नीतिप्रति विवेकशील साझाका युवाहरु भन्छन्ः ‘हाम्रो तातोभात अभियानमा प्रशासनले लात नै हान्यो ।’
तातो भात अभियानको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
कोभिड बिरामीका लागि लेकसाइडको ‘गडफाडर पिज्जेरिया’ को भान्सामा खाना तयार हुन्थ्यो । आवश्यक सामाग्री मनकारीहरुले दान गर्थे । उनीहरुबाट सहयोग संकलन गरी भान्सासम्म लगेर पकाएर बिरामी र कुरुवासम्म दिनदिनै पु¥याउँथे । यस्तो महामारीमा युवाहरुको यो काम चानचुने काम होइन । ‘आवश्यक स्वास्थ्य मापदण्ड अपनाएरै गरेको काममा प्रशासन किन बाधक बन्यो ?’ भन्दै उनीहरु अचम्म मान्छन् । आफ्नो कामको फेसबुकमा लाइभ हान्छन्, सोध्छन् – ‘९ जना छम् हामी, सुरक्षाका लागि स्वास्थ्य मापदण्ड हेर्नुहोस्’ भन्दै प्रश्न राख्छन् ।

जेठ २ गतेदेखि नै विवेकशील साझाले ‘तातो भात’ अभियान सुरु गरेको थियो । यसलाई जनस्तरबाट समेत राम्रो साथ सहयोग मिलेको थियो । सामाजिक सञ्जालमा राम्रो काम भएकाले प्रचारप्रसार पनि थियो । भोलिपल्टै प्रशासनले सूचना निकाल्यो र भन्योः ‘कतिपय संघसंस्थाबाट अस्पतालका कोभिड १९ संक्रमित विरामी तथा तिनका कुरुवाहरुलाई खानपानको व्यवस्था गर्ने, विपन्न असहायहरुलाई राहत वितरण गर्ने साथै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन गर्ने जसता कार्यहरु सञ्चालन गरेको भन्ने बुझिन आएको छ । त्यस्ता कार्यहरु एकद्वार नीति अन्तरगत जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय एवं स्थानिय तहको समन्वयमा मात्र सञ्चालन गर्नुपर्ने राष्ट्रिय नीति रहेको छ । तसर्थ, त्यस्ता सामाजिक कार्य सञ्चालन गर्दा डीसीसीएमसीको सहमति र स्थानीय तहको समन्वयमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु ।’

त्यसपछि पनि ‘तातो भात’ अभियान जारी नै रह्यो । यो सूचनापछि वैधानिकता कायमका लागि युवाहरु पुनः प्रशासन कार्यालय पुगी अनुमतिका लागि अनुरोध गरे । जेठ ६ गते पुनः अर्को विज्ञप्ति जारी गरियो र भनियो– ‘केहि संघसंस्थाहरुले संक्रमित तथा निजको कुरुवाहरुलाई खाना खुवाउनका लाग अनुमति माग गरेकोमा उक्त कार्य सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गराउन कठिन भई संक्रमण फैलावटको जोखिम समेत उच्च रहने हुँदा हाललाई अनुमति नदिने भनि निर्णय भएको छ ।’ त्यसपछि ११ वटा विभिन्न मापदण्ड पूरा गरेर मात्र कार्य गर्न आदेश दिइएको छ ।

पार्टीका केन्द्रिय सदस्य दीपक पौडेलले विवेकशील साझाको अभियानमा जिल्ला प्रशासन कार्यालयले राजनीतिक आँखाबाट हेरेर भाँजो हालेको बताएका छन् । उनले भनेका छन्ः ‘किन विभिन्न संघसंस्था भन्नुपर्यो । एमाले पार्टीलाई विवेकशील साझाले गरेको अभियान मन परेन भने भइहाल्यो ।’ अर्का केन्द्रिय सदस्य अर्जुन खनालले फेसबुकमा सरकारविरुद्ध कडा आक्रोश पोखेका छन् – ‘सरकार !! घुस, भ्याक्सिन र कात्रोमा कमिसन खान/खुवाउन मिल्ने तर भोको पेटलाई तातो भात खुवाउन नमिल्ने??’

पार्टीका प्रदेश सदस्य तथा अभियानका विभाग प्रमुख अशोक खड्काले शुक्रबार खाना खुवाएपछि प्रशासनसँग थप छलफलपछि नयाँ मोडालिटीमा अभियान जारी राख्ने बताए । उनले गण्डकन्यूजसँग भने– ‘लगातार ६ दिनसम्म हामीले अभियान सञ्चालन गरेका थियौँ । तर, प्रशासनले पटक पटक आदेश जारी गरेपछि हामी विधि मान्ने पार्टी भएको हुँदा नयाँ मोडालिटी अनुसार नै अघि बढ्छौं । सहयोगी हातहरुको साथ अझै मिल्नेछ । हाम्रो अभियान जारी छ ।’

पार्टीको पोखरा महानगर संयोजक अजय श्रेष्ठ, सहसंयोजक बिपना कुँवर लगायत हप्तादिनदेखि अभियानमा सक्रिय छन् ।

सिडिओ गौतम भन्छन्ः ‘कोरोना संक्रमण फैलनुभएन’
यस विषयमा प्रतिक्रिया लिँदा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रशासन अनुदार, गैरजिम्मेवार नभएको भन्दै संक्रमण फैलन नदिन उपयुक्त कदम चालेको बताए । ‘तपाईं आफै भन्नुस् न, लात हानेको हुन्छ हामीले ? हामीले त भिडभाड नगरौं । यो संक्रमण फैलावटलाई रोकौं पो भनेको हो । उहाँहरु एकद्वार प्रणाली अन्तर्गत स्थानिय तहसँग समन्वय गरेर पनि अघि बढ्न सक्नुभो नि ।’
‘के विवकेशील साझाले मापदण्ड अनुसार काम गरेनन् भन्नुभएको हो ?’ भन्ने प्रश्नमा गौतमले भने- ‘होइन त्यसो भनेको हैन, तर यो बेला संक्रमण फैलन नदिन सबै लाग्नुपर्छ ।’

विवेकशील साझा पार्टीको कर्णाली प्रदेशले पनि’अमृत भोजन अभियान’ सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो