पोखरा । गत वैशाख ४ गते फेवातालमा मृत भेटिएका नुभिव उप्रेतिको घटनामा मुछिएका पोखरा घारीपाटन बस्ने ३ जना युवकमध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । उमेर नपुगेका एक जनालाई सुधार गृह पठाइएको छ । बिगेन गुरुङ र बासुदेव गुरुङ जेल चलान भएका छन्
कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बाँकी प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुद्धा पुर्पक्षमा जाने भन्ने आदेश दिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए ।
आदेशमा भनिएको छ- ‘तत्काल प्राप्त प्रमाण समेतबाट प्रतिवादीहरूका हकमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) (क) को अवस्था विद्यमानता देखिदा पछि ठहरेबमोजिम हुनेगरी हाललाई पुर्पक्षका लागि प्रतिवादीहरू विगेन गुरुङ र वासुदेव गुरुङलाई ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय कास्कीमा पठाइदिनू भनी ऐ. संहिताको दफा ७९ बमोजिम यो थुनछेक आदेश गरिदिएको छ ।’
यस्तै, उमेर नपुगेका अभियुक्तको हकमा आदेशमा भनिएको छ- ‘तत्काल प्राप्त सम्पूर्ण प्रमाणहरूबाट यी कानूनको विवादमा परेका बालकको वारदातमा रहेको संलग्नतालाई हाल अन्यथा मान्न मिल्ने नदेखिएबाट निज कानूनको विवादमा परेका बालक परिवर्तित नाम, थर २०७८ बैदाम-१४ लाई कानूनबमोजिमको सुविधा पाउने गरी बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) बमोजिम बाल सुधारगृह सराङकोट कास्कीमा राख्न पठाउनू भनी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ को प्रयोजनार्थ प्रस्तुत आदेश गरिदिएको छ ।’
विहीबार नै मुद्धाको पेशी चढेको थियो । आफ्नो छोराको मनसाय पूर्वक हत्या गरेको भन्दै नुभिवकी आमा भगवती कुमारी मैनाली उप्रेतिले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।

जेठ ३ गते बिगेन गुरुङ र बासुदेव गुरुङ तथा जेठ ४ गते अर्का युवक (परिवर्तित नाम २०७८ बैदाम १४, उमेर नपुगेकाले) विरुद्ध मुद्धा दर्ता भएको थियो । जेठ ६ गते नै अभियुक्तको बयानसहित वादी र प्रतिवादीको बहस सकिएको हो ।
अभियुक्त ३ जनालाई कोरोना संक्रमण भएपछि बयान लिने काम पनि प्रभावित भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले २१ दिनभित्रै सबै सबुद प्रमाण संकलन गरी बुझाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
सम्बन्धित समाचारः
भर्चुअल (श्रव्य-दृश्य) माध्यमबाट जाहेरवाला तथा प्रतिवादीको तर्फबाट गरिएको बहस न्यायाधीश भट्टराईले अदालतबाटै सुनेका थिए । पोखरा, मकवानपुर र काठमाण्डौबाट कानून व्यवसायी भर्चुअल (श्रव्य-दृश्य) माध्यमबाट जोडिएर बहस गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, सह न्यायाधिवक्ता मदन शर्मा, साथै जाहेरवालाको तर्फबाट अधिवक्ताहरु ईन्द्रप्रसाद शर्मा, भीमप्रसाद धिमाल, बसन्त जोशी, शालिकराम सापकोटाले बहस पैरवी गरेका थिए । प्रतिवादी तीनै जनाको तर्फबाट हरिप्रसाद सुवेदीले बहस गरेका थिए ।

ललितपुरबाट वैशाख ३ गते पोखरा आएका १८ वर्षीय नुभिवलाई लेकसाइडमा तीन युवाहरुले रातभर निर्घात कुटपिट गरेका थिए । कुटपिट गर्ने युवकहरु खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ थिए ।
लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेज गण्डकन्यूजले सार्वजनिक गरेको थियो । उनीहरुले आफूले कुटपिट गरेको तर हत्या नगरेको बयान दिएका छन् । घटना प्रत्यक्ष देखेका सबैजसोले मृतक नुभिवले सो बेला मादक पद्धार्थ सेवन गरेको बयान दिएका छन् । नुभिवका साथीहरुले पनि घरमा कडाई हुँदा निराशा व्यक्त गर्ने गरेको, गाँजा/चुरोट सेवन गर्ने गरेको बयान दिएका छन् । सुरुमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या भनेको प्रहरी सिसिटिभी फुटेज प्राप्त भएपछि थप अनुसन्धान गर्दै जाँदा हत्या भएको निश्कर्षमा पुगेको थियो । र, सोहि अनुसार कारबाही प्रक्रिया अघि बढाएको थियो ।
अहिले सामाजिक सञ्जाल टुइटरमा #JusticeForNubhiv ह्यासट्याग ट्रेण्डिङ नम्बर वानमा छ । नुभिवको न्यायको लागि युवाहरुले सामाजिक सञ्जालमा सशक्त ढंगले अभियान नै छेडेका छन् ।

रातभर निर्घात कुटपिट, सबेर फेवातालमा मृत
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने