पाँचौ उपधाराबाट पनि प्रधानमन्त्री बन्ने प्रयासमा ओली ! महन्थ र राजेन्द्र लिएर मध्यरातमा राष्ट्रपतिकहाँ पुगे

पाँचौ उपधाराबाट पनि प्रधानमन्त्री बन्ने प्रयासमा ओली ! महन्थ र राजेन्द्र लिएर मध्यरातमा राष्ट्रपतिकहाँ पुगे

kp-rajendra-mahantha

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगै आधा दर्जन नेताहरु लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

मध्यरातमा प्रधानमन्त्री ओली जसपा सांसदहरु लिएर पुनः ७६(५) अन्तर्गतको सरकारमा दाबी प्रस्तुत गर्न गएको बुझिएको छ । नेकपा एमालेका तर्फबाट १२१ र जसपा सांसद कम्तिमा १५ को हस्ताक्षर बुझाउन सके राष्ट्रपतिले पुनः प्रधानमन्त्री ओलीलाई नियुक्त गर्न सक्नेछिन् । जम्मा २१ घण्टाको समय दिएर राष्ट्रपतिले नयाँ सरकार गठनमा दाबी प्रस्तुत गर्नका लागि दलहरुलाई समय दिएकी थिइन् ।

यसअघि विश्वासको मत लिँदा मत नदिएपनि र आजै पार्टी निर्णय उल्लंघन गरेर माधव-झलनाथ पक्षले सूर्यमा मतदान नगरेपनि अध्यक्ष समेत रहेका ओलीले कारबाही गरेका छैनन् । त्यसैले १२१ सांसद एमालेसँग अहिले पनि छ ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै ठाकुर र महतो बालुवाटार पुगेर ओलीलाई भेटेका थिए । अहिले विकसित घटनाक्रमले उनीहरु नयाँ सरकारमा ओलीसँगै अघि बढ्ने निश्चित भएको छ ।

संविधानको धारा ७६ उपधारा ५ मा प्रतिनिधिसभाको सदस्यले आफूमा संसद्को विश्वास रहेको आधारसहित प्रधानमन्त्री पदमा दाबी गरेमा त्यस्तो सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ’उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

राष्ट्रपतिले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेपछि पुनः विश्वासको मत लिँदा बहुमत नपुगे सविंधानसम्मत् ढंगले संसद विघटनको दिशामा देश जान्छ र देश ओलीकै नेतृत्वमा चुनावमा होमिनेछ । मध्यावधि चुनावमा देश जाने र त्यसको नेतृत्व ओलीले गर्ने कुरामा विपक्षीको सहमति छैन । काँग्रेस र माओवादीले राष्ट्रपतिले जम्मा १ दिनको समय दिएर संसद विघटनतर्फ उन्मुख गराएको भन्दै विरोध जनाउन सुरु गरिसकेको छ । काँग्रेसले बिहानै ९ बजे बैठक बोलाएको छ । राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव र प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । पास नै नभएपनि उनीहरु अघि बढ्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत संविधानमाथिको आक्रमण शृंखला नरोकिएको भन्दै राजनीतिक दलहरूले मुलुकलाई सहमतिमा निकास दिन आग्रह गरेका छन् ।

’संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो । कोरोना महाव्याधीको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित-परास्त गरौं,’ डा. भट्टराईको आग्रह छ, ’सबैले दलीय-निजी स्वार्थ त्यागेर जो–जेमा सहमति हुन्छ धारा ७६ (५)बाटै निकास दिऊँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ