माधव नेपाललाई ओलीको प्रष्ट सन्देश : बादल हारे एकताको ‘च्याप्टर क्लोज’, क्षम्य नहुने चेतावनी

माधव नेपाललाई ओलीको प्रष्ट सन्देश : बादल हारे एकताको ‘च्याप्टर क्लोज’, क्षम्य नहुने चेतावनी

PM-KP-Oli-and-Madhav-Kumar-Nepal

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् ।

‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सवैको कर्तव्य हो’ अध्यक्ष ओलीले अपीलमा भनेका छन्, ‘पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा हो ।’ साथै ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका छन् ।

ओलीले जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा पार्टीका उम्मेदवार भएको भन्दै उनी नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको बताएका छन् । ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीको आग्रह छ ।

मौन अवधिमा वक्तव्यबाजी गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण, कारबाहीको चेतावनी

निर्वाचन आयोगले बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील जारी गरेका थिए भने मौन अवधिमा उम्मेदवारकै दौडधूप समेत बढेको थियो ।

​‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’

आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ । एकातर्फ निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आपैm आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगका भनाइ छ ।

‘निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले बिहीबार सम्पन्न हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिवद्ध र क्रियाशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ