नेकपा एमालेका शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति गरेका छन् । दुई महिनाको रस्साकस्सीपछि सत्तारूढ नेकपा एमालेका दुवै (प्रधानमन्त्री केपी शर्मा ओली र खलनाथ खनाल तथा माधवकुमार नेपाल समूह) जेठ २ लाई आधार बनाएर अघि बढ्न सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार अबेर रातिसम्म बसेको बैठकले पार्टी एकतापूर्व अर्थात् जेठ २ लाई नै प्रस्थान विन्दु बनाएर सहमति खोज्ने निचोड निकालेको भीम रावलले जानकारी दिए ।
बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए ।
‘०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,’ नेता रावलले भने, ‘त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।’
रावलका अनुसार छलफल फेरि अगाडि बढाइने छ । “हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि, पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्यौँ,” बैठकपछि रावलले भने, “त्यसका लागि २०७५ जेठ २ गतेभन्दा अगाडिलाई आधार बनाएर छलफल गर्ने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजी र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलका सदस्यहरू तय गर्ने कुरा भएको छ । तुरुन्तै कुराकानीलाई अगाडि बढाउने निर्णय भएको छ ।”
त्यस्तै खनाल–नेपाल समूहका अर्का नेता रघुजी पन्तले पनि सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए । “पार्टीलाई एकताबद्ध बनाउने विषयमा नै छलफल केन्द्रित भयो । छलफललाई निरन्तरता दिँदै जानेछौँ,” उनले यति मात्रै भने ।
छलफलमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि छलफल सकारात्मक रहेको र जेठ २ लाई सहमतिको प्रस्थान विन्दु मानेर अघि बढ्ने समझदारी भएको बताए ।
ओलीका तर्फबाट बादल पनि सहभागी
एमाले विवाद २०७५ जेठ २ मा अड्किएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जेठ २ लाई नै सहमतिको मुख्य आधार बनाएको छ । तर, प्रधानमन्त्री ओलीले परिस्थिति निकै अघि बढिसकेको बताउँदै आएका छन् ।
खनाल–नेपाल समूहको आजको बैठकलाई ओली समूहले रणनीतिकरूपले उपयोग गर्यो । खनाल–नेपाल समूहले जेठ २ अगाडिका कमिटी, नवौँ महाधिवेशनले पारित गरेको विधानलाई सहमतिको आधार बनाइनुपर्छ भनिरहँदा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहितको बैठक राखिदिए ।
बादलसहितको बैठकलाई स्वीकार गरेपछि जेठ २ को रटानको कुनै अर्थ र उपादेयता नरहने ओली पक्षका एक नेता बताउँछन् । “बादललाई स्वीकार गर्नु भनेको फागुन २८ गतेको निर्णय पनि स्वीकार गर्नु हो,” ओली पक्षका एक नेता भन्छन्, “जेठ २ का कमिटीहरू पनि मान्ने कुरा होलान्, जेठ २ मै फर्कने भन्ने कुरा त्यति सम्भव नहोला ।”
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि बादल एमाले प्रवेश गरेका थिए।त्यसयता प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेका बादल सहितका नेताहरूलाई सहभागी गराएर पार्टीका बैठका राख्ने गरेका छन्।
नेपाल पक्षले भने २०७५ जेठ २ गतेको पार्टी कमिटीका बैठकहरू राखेर एमाले प्रवेश गरेकाहरूलाई सहभागी गराउन सकिने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री ओलीले भने बादलको समूहका नेताहरूबिनाको कुनै बैठक नराख्ने आफू निकटहरूसँग बताउँदै आएका थिए। सिंहदरबारको बैठकमा बादल सहभागी हुनुले पनि यही संकेत गरेको छ।
जेठ २ को अवस्थामा फर्किन तयार छु भनेर बादललाई सहभागी गराउनुले ओलीको नियतमा शंका उत्पन्न भएको नेपाल निकट एक नेताले बताए। ‘मैले पनि फोटोमा बादललाई देखेको छु। आज अनौपचारिक बैठक भएर पनि होला। तर बादलसहितको बैठकमा खुलेर कुरा हुनसक्छ कि सक्दैन भन्ने हो,’ ती नेताले भने, ‘कार्यदलमा समेत बादल बसे भने त सहमति हुनेमा आशंका रहन्छ। किनकि, हामीले त जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउन चाहेको हो। त्यो बेलाका कमिटीले बादललाई चिन्दैन।’
वार्तामा को को सहभागी भए ?
सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली समूहको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल थिए ।
खनाल–नेपाल समूहको तर्फबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । दुवैतर्फका यिनै नेतामध्येबाट कार्यदल बनाइने नेताहरूले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर