जनमोर्चाका सांसद थापाले आज हस्ताक्षर गर्छन् ? नत्र कारबाही !

जनमोर्चाका सांसद थापाले आज हस्ताक्षर गर्छन् ? नत्र कारबाही !

krishna-thapa-rajmo

कुनै हालतमा पनि नेपाली काँग्रेसलाई समर्थन गर्न नसक्ने चट्टानी अडानमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आज हस्ताक्षर गर्छन् ? उनको सिद्धान्तले जित्छ कि ? पार्टीको निर्देशन भनेर मन नलागी नलागी सही धस्काउँछन् ? एकातिर मानेका नेता छन्, अर्का तिर आफूलाई जिताउने कार्यकर्ता, आफ्नो धरातल, आफ्नो आधार । पार्टीका केन्द्रिय महासचिव नै पोखरा आएर फकाउन थालेको ११ दिन भइसक्यो । उनी अहिले धर्मसंकटमा छन् ।

थापाले यदि हस्ताक्षर नगरे सांसद पद गुम्नेछ भने पार्टीबाटै निश्काषन हुनुपर्ने अवस्थामा पुग्नेछन् । संसदीय दलको ह्वीप उल्लंघन गर्ने, पार्टीको निर्देशन नमान्नेलाई कारबाही प्रक्रिया सुरु हुनु सामान्य रहेको दलले जनाइसकेको छ । गण्डकी प्रदेशसभामा राजमोको ३ सांसद छन् । थापा आफै संसदीय दलका नेता हुन् । यसअघि, पार्टी अध्यक्ष चित्रबहादुर केसीले नै पार्टीको निर्णय नमान्नेलाई कारबाही हुने बताइसकेका छन् ।

पृथ्वीसुब्बा गुरुङलाई विस्थापन गरी कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धन पहिल्यैदेखि लागेको छ । अविश्वास प्रस्ताव समेत दर्ता भइसकेका बेला वैशाख १५ गते यसको छिनोफानो हुने दिन राजमोकै सांसद खीमविक्रम शाही अनुपस्थित भएपछि पृथ्वीसुब्बाको पदको आयू ११ दिन लम्बिएको थियो । सांसद शाही चरक हस्पिटलमा भेटिएका थिए । विहान नेगेटिभ आएको उनको रिपोर्ट त्यही दिन २ पटक पोजिटिभ आएको जानकारी गराइएको थियो । स्वाब कलेक्शन डेट र छिनछिनमै सिटी भ्यालुमा गडबढका कारण अहिले पनि आशंका नै गर्छन् ।

सांसद शाहीले अहिले पार्टी निर्देशन मानेका छन् । जनमोर्चा सांसद खिमबिक्रम शाही र पियारी थापाले  हस्ताक्षर बुझाइसकेका छन् । समानुपातिक सांसद एवं पार्टी सचेतक पियारी थापा पृथ्वीसुब्बा हटाउने अभियानमै थिइन् । पियारीले नै २ सांसदलाई प्रक्रिया नपुराई ह्वीप लगाएकी थिइन् । २ दिनसम्मको अनवरतको प्रयासमा पनि सांसद थापाले काँग्रेसलाई समर्थन गर्न नमानेपछि कारवाही प्रक्रिया अघि बढाइने भएको छ ।

उनलाई फकाउने प्रयास जारी छ । अन्तिम अवस्थासम्म थापाले पार्टी निर्णय नमाने आजै पदमुक्त गरी सो को जानकारी संसदमा गराउने तयारी पनि गरिएको बताईन्छ । यसो भएमा गण्डकी प्रदेशसभामा सदस्य संख्या ५९ हुन्छ र काँग्रेसका कृष्णचन्द्र पक्षमा बहुमत पुग्छ । काँग्रेसको १५, माओवादीको सभामुखबाहेक ११, जसपाको २ गरी २८ छ । राजमोको २ थपिँदा ३० पुग्छ र बहुमत हुन्छ । एमालेको माधवपक्षका १ सहित २७ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) सहित २८ नै छ । पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री बन्ने सम्भावना समाप्त हुन्छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार सांसदलाई पार्टीबाट निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ ।  पार्टीबाट निष्किासित सांसद स्वतः पदमुक्त हुन्छ । कानुनमा कारबाही अघि सांसदलाई स्पष्टिकरण पेश गर्ने मौका दिनुपर्ने उल्लख छ । यसका लागि दलले जाँचबुझ समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ ।
यसरी लिएको स्पष्टिकरण दलको केन्द्रिय समितिमा पेश गरेर निर्णय गर्नुपर्ने छ ।

आज अपरान्ह ४ बजेसम्म मात्र समय छ । अहिलेसम्म फकाउने अन्तिम कसरतमा रहेका उनीहरुले यो प्रक्रिया पूरा गरिसक्नेमा भने आशंका छ । थापाको आजै पद नगए मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनर्नियुक्ति पाए पनि ३० दिनभित्र विश्वासको मत लिन उनलाई सकस पर्नेछ । त्यसपछि प्रदेशसभा विघटन हुन्छ र मध्यावधि चुनावतर्फ धकेलिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds