पोखराका गुभाजुसहित अर्का संक्रमितको अक्सिजन नपाएर मृत्युपछि अस्पताललाई कारबाही गर्ने

पोखराका गुभाजुसहित अर्का संक्रमितको अक्सिजन नपाएर मृत्युपछि अस्पताललाई कारबाही गर्ने

krishna man guvaaju

भक्तपुर इन्टरनेसनल अस्पतालको गम्भीर लापरबाहीका कारण दुई जना कोरोना संक्रमितको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले कारबाही गर्ने भएको छ।

मृतकमध्येको एक जना पोखराकै प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा व्यवसायी कृष्णमान गुभाजु हुन् । अर्का भक्तपुर कमलविनायकका ४५ वर्षका व्यक्ति हुन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका गुभाजुको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित सो अस्पताललाई कारबाही गर्ने तयारी गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताएका छन् । उनका अनुसार अस्पताललाई आइतबार स्पष्टीकरणको सोध्ने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको छ। आज शनिबार परेकाले आइतबार सोधिने भएको हो ।

शुक्रबार पीडित र अस्पताल व्यवस्थापन पक्षबीच छलफल भएको थियो । ‘अस्पतालमा भएको घटना बारेमा पीडित र अस्पतालको व्यवस्थापनबीच छलफल भयो। आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारबाही अघि बढाउँछौं,’ उनले भने।

मृत्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित र अस्पताल व्यवस्थापनबीचको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रजिअ केशरीले जानकारी दिए। अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रजिअ केशरीले बताए।

पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमित भर्ना गरिएको थियो। अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो।

अस्पतालको चरम लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए। सो क्रममा झडपको स्थिति आएको थियो। अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ।

पीडित परिवारले अस्पतालको चरम लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। सो अनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ।

पोखराकै चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका उनलाई मंगलबार मात्रै हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर लगेको र त्यहाँ उपचार हुँदाहुँदै राति तपाईंको बिरामीलाई गाह्रो छ, कोरोना हस्पिटल लैजानुपर्छ भनेर फोन आएको उनका परिवारले जनाएका छन् । भतिजा डा. सञ्जीवले अस्पतालका चिकित्सकहरुसँग सोधपुछ गर्दा ‘अक्सिजन सर्टेज भएको हो, २० मिनेटमा आउँछ होला भनेको तर अक्सिजन सकिएपछि मात्रै खबर आएको सञ्चारमाध्यमलाई बताएका छन् ।

पोखराको मोहोरिया टोलका ६२ वर्षका कृष्णमानलाई वैशाख १० गते साँझदेखि ज्वरो आएपछि १५ गते टेस्ट गराउँदा कोरोना पुष्टि भएको थियो । कृषकञ्चन ज्वेलरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनी सुनचाँदी व्यवसायी संघ पोखराका पूर्वअध्यक्ष हुन् ।

कृष्णमान अहिले काहुँडाँडामा निर्माणाधीन धर्मकाय बुद्ध मण्डल समितिका कोषाध्यक्ष थिए । रोटरी क्लब अफ अन्नपूर्णका पूर्वअध्यक्षसमेत रहेका कृष्णमानले विश्व शान्ति स्तूप सञ्चालन समितिमा २ कार्यकाल सचिव भएर काम गरे । धर्मशीला बुद्ध विहार नदीपुरको ज्ञानमाला संघ र दायक सभाका पूर्वअध्यक्ष पनि हुन् भने युवा बौद्ध संघ र धर्माेदय सभाका सल्लाहकारसमेत हुन् ।

पोखराका व्यवसायी तथा समाजसेवी गुभाजुको कोरोना संक्रमणका कारण निधन

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds