काठमाण्डौ – सुप्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८४ वर्षको उमेरमा निधन भएको छ। छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानका पारिवारिक श्रोतका अनुसार निधनको कारण भने हर्ट हट्याक हो । प्रधान दस दिनदेखि अस्पतालमै थिए ।
उनको जन्म सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा भएको थियो। प्रधानले १६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास गरेर औपचारिक सांगितिक यात्रा सुरु गरेका उनलाई ‘गोल्डेन भ्वाइस अफ नेपाल’ को उपनामले पनि चिनिन्छ। आमा प्राणदेवी प्रधान र गणेशलाल श्रेष्ठबाट संगीतको प्रारम्भिक शिक्षा लिएका प्रधानले ‘याद आइरहेछ कसैको यो अँधरी रातमा’ पहिलो रेकर्डेड गीत थियो ।
नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा पनि लिपिवद्ध छन् । उनले सर्वप्रथम ‘माइतीघर’ फिल्मका लागि उषा मंगेशकरसँग युगल गीत गाएका थिए । त्यसैगरी उनले ‘मायालु’ फिल्मका लागि आशा भोस्लेसँग पनि युगल गायन गरेका थिए ।
‘गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’, ‘यो नेपाली शिर उचाली’ ,‘तारा मात्र हैन’ ‘राजमति’ आदि उनले गाएका सदाबहार गीत मानिन्छन् । उनले भजन, नेपाल भाषा नेपाली फिल्म र सुगम संगीत गरी ७ सयभन्दा बढी गीतमा आवाज दिएका छन् ।
उनका ‘हिमालयन बुकेत फ्रम स्विगिङ काठमाडौं’ , ‘हिट सङ्स फ्रम दि गोल्डेन भ्वाइस या प्रेमध्वज प्रधान’, ‘घाइते जवानी’ ‘माया नमार’ ‘कतै यो सहरमा’ आदि एल्बम प्रकाशित छन् । नारायण गोपाललाई गायनमा ल्याउन प्रेमध्वज प्रधानको ठूलो हात थियो । प्रधानले नै नारायण गोपालको हात समातेर रेडियो नेपालसम्म लिएर गएका थिए ।
प्रधानले बागीनामा लेखेको संस्मरणमा यो घटनाको उल्लेख गर्नुका साथै पछि नारायण गोपाल दार्जिलिङका स्रष्टासँग नजिकिएपछि आफूहरु टाढिँदै गएको बताएका थिए । प्रेमध्वज प्रधानले ‘माइतीघर’ गीतसँगै अभिनयको पनि प्रस्ताव पाएका थिए ।
तर, उनले गीत गाउन आएको गीत मात्रै गाउँछु भनेर अभिनयको प्रस्तावलाई अस्वीकार गरेका थिए । पछि उनले अस्वीकार गरेको भूमिका सिपी लोहनीले गरेका थिए । प्रेमध्वज प्रधानका एक श्रीमति किरण प्रधान र प्रशन्न र कबीर नामका दुई छोरा छन् । दुवै अमेरिकामा रहेकाले उनीहरुको अनुपस्थितिविनै आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
तुलसीसँग चोलेन्द्रले गाए ‘घर मेरो कास्की’(भिडिओ)
दोहोरीमा अनिल र अर्चना बने विजेता, अग्रज गायक पराजुली र न्यौपाने सम्मानित
पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने
पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने
पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो