श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्री ओलीको घोषणा

श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्री ओलीको घोषणा

kp-sharma-oli

सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ। हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। आगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।

गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन। अघिल्लो वर्ष कोभिड महामारीको विषम परिस्थितिका कारण श्रमिकहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको प्रधानमन्त्री ओलीले बताए।

यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे।

औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताए।

‘२०७५ मंसिर ११ गतेबाट राष्ट्रिय अभियानको रुपमा सुरू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र २ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए। त्यस्तै, श्रम गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको उनले बताए।

कोभिड महामारीका कारण स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू जटिल अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले कामको सुरक्षा र थप रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। काममा रहेकाहरूको न्यूनतम् पारिश्रमिक सुनिश्चितता गर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ