दीपक मनाङे गण्डकीको युवा तथा खेलकुद मन्त्री

दीपक मनाङे गण्डकीको युवा तथा खेलकुद मन्त्री

Deepak-Manange

पोखरा । राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बन्दैछन् । मन्त्रीमण्डल विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ । उनको केही समयमा सपथ ग्रहणको तयारी भइरहेको छ ।

अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत छ । जसको नेतृत्व नरदेवी पुनले गरिरहेकी छिन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय खाली छ ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा अड्किरहेकै बेला  मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । मनाङेले संसदमा अनुपस्थित भएर सहयोग गरेका हुनाले पुरस्कार स्वरुप मन्त्री बनाउन लागिएको हो । अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम रहेको दिन हिजो संसदमा राजमोका खिमविक्रम शाहीसँगै मनाङे पनि अनुपस्थित थिए । सरकार नै नरहने हो कि ? भन्ने समयमा भएको मन्त्रीपरिषद् विस्तारलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउने रणनीति अख्तियार गरेको रुपमा हेरिएको छ ।

को हुन् दीपक मनाङे ?

मनाङ क्षेत्र (ख) बाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङेको वास्तविक नाम राजिव गुरुङ हो । विवादित पृष्ठभूमिका भएपनि अहिले उनी जनताको बोली भन्दै हाक्काहाक्की आफ्ना कुरा राख्छन् ।

‘गुण्डा नाइके’ भनेर कुख्यात बनिरहेका बेला उनी मनाङ जिल्लाबाट प्रदेशसभाका लागि उठ्ने भए । तर, नेकपा एमालेले पार्टीबाट टिकट दिँदा बदनाम हुने डरले आफ्ना पार्टीका उम्मेदवारको सट्टामा मनाङेलाई सघाएर जिताएको थियो । बाहिर राम्रो छविले नचिनिएपनि उनलाई मनाङी जनताका प्रिय भए र जितेर प्रदेश सांसद बने ।

त्यसपछि उनी एमाले र माओवादी एकीकृत भएर बनेको पार्टी नेकपामा प्रवेश गरे । नेकपा खारेज भएपछि स्वतन्त्र सांसद भन्दै आएका उनले आफूलाई स्वतन्त्रकै हैसियतमा स्थान दिन प्रदेशसभा सचिवालयमा निवेदनसमेत दिएका थिए । राष्ट्रिय जनमोर्चा मात्र इमान्दार पाएको भन्दै उनले अविश्वास प्रस्तावका सवालमा अब जनमोर्चाले जे गर्छ आफूले त्यही गर्ने बताउँदै आएका थिए । बुधबार भने मनाङका मतदाताले पृथ्वीसुब्बालाई नछाड भनेपछि आफू पिएसकै पक्षमा रहेको बताएका थिए ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेले सपथ लिनबाट समेत बञ्चित हुनुपरेको थियो । निर्वाचन जिते पनि उनले २०७५ माघ १४ सम्म सांसदको हैसियत पाएका थिएनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए । करीब ९ महिनापछि २०७५ पुस ६ गते उनी कारागरमुक्त भएका थिए । त्यसपछि सपथ गरेर मात्र मनाङे २०७६ असार १९ मा तेस्रो पटक नेकपा प्रवेश गरेका थिए ।

मनाङको खेलमा रुची छ । उनी मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध छन् । दुई महिना अघि मात्रै बगर भाईखलक भेट्रान्स एट–ए–साईड फुटबल प्रतियोगितामा उनी आफ्नो टीमबाट मैदानमा समेत उत्रेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ