सरकारलाई जनमोर्चाको प्रश्न, ‘हाम्रा सांसदलाई किन बन्दी बनाइयो ?

सरकारलाई जनमोर्चाको प्रश्न, ‘हाम्रा सांसदलाई किन बन्दी बनाइयो ?

Khim-bahadur

राष्ट्रिय जनमोर्चाले सरकारलाई आफ्नो सांसदलाई किन बन्दी बनाएर राखेको भन्दै सरकारसँग प्रश्न गरेको छ। बुधबार गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि आफ्ना संसद् खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएर राखेको जनमोर्चाले आरोप लगाएको छ।

जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखेकी छिन्, ‘गण्डकी प्रदेशमा भएको संसदको गतिविधिलाई लिएर कैयौं प्रश्नहरू उठिरहेका र टिकाटिप्पणी भइरहेका छन्। त्यसबारेमा राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ। गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने हाम्रो पार्टीको प्रष्ट र दृढ नीति छ।’ उनले मतदानको दौरानमा अस्वभाविक घटना घटेकाले आश्चर्य र दुःख लागेको बताएकी छन्।

‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको छ। पछि बुझ्दा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ,’ पौडेलले विज्ञप्तिमा लेखेकी छिन्, ‘गण्डकी प्रदेशका सांसदहरूको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो, त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ।’

सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो? भन्दै उनले प्रश्न समेत गरेकी छन्। अस्पताल पुगेका कसैलाई पनि शाहीसँग भेट्न नदिएको जनकारी दिँदै उनले आपत्ति जनाएकी छन्।

‘उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं’ उनले प्रश्न गरेकी छिन्‌।

संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले स्थिति अज्ञात भएकोले जानकारी गराउन तथा उपस्थित नहुँदासम्म संसदमा मतदानलाई स्थगित गर्नका लागि सभामुख कहाँ निवेदन दिएपछि बैठक स्थगित भएको थियो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा मतदानको क्रममा जनमोर्चा विपक्षीमा उभिएको भएपनि सांसद अपहरण गरेको विपक्षीको आरोप छ।

आफ्नो सरकार ढल्ने भएपछि सांसद समेत किनबेच र अपहरणसम्मको गतिविधि गर्ने देखिएपछि संसदीय व्यवस्थामा समेत प्रश्न उठेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ