प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उद्घाटन

dharhara1

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिवार आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।

वि.सं. २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो ।

पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । मौलिकताको सम्बर्द्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ ।

धरहरामा विद्युतीय लिफ्ट र भर्‍याङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन । धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ