म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

myagdijilla-adalat

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । वि।सं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।

रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो । रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो । मुद्दाको सुनुवाइ, फैसला, मिलापत्रलगायतका सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भेषराज पौडेलले बताए ।

“मुद्दाको पुनरावेदन गर्ने अधिकार स्रेस्तेदारलाई भए पनि पुनःविचार गर्ने अधिकार न्यायाधीशलाई मात्र हुन्छ,” उनले भने, “मुद्दाको पुनः विचार गर्ने न्यायाधीश नहुँदा केही बन्दी बढी समय हिरासत र कारागारमा बस्नुपरेको छ ।”

कानून व्यवसायी चिरञ्जीवी शर्माले न्यायाधीश नहुँदा नागरिकको मौलिक अधिकारसँग जोडिएको न्याय सेवा प्रभावित भएको बताए । सबैभन्दा बढी वैदेशिक रोजगार प्रयोजनका लागि अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने प्रभावित भएका छन् । जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशमा आश्रित भिसामा जानका लागि कागजी प्रक्रिया पूरा गर्न अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।

जनकपुर अदालतमा न्यायाधीश पौडेलले हेर्नुभएका मुद्दा टुङ्गो लगाउनुपर्ने र फैसला भएका मुद्दाको पूर्णपाठ तयार पार्न समय लाग्ने भएकाले म्याग्दी आउन ढिलाइ भएको श्रेस्तेदार पौडेलले बताए । मुद्दाको पूर्णपाठ तयार पार्न २१ दिन र सरुवा भएको ठाउँमा पुग्न बाटोको म्याद सात दिनको हुन्छ । न्यायाधीश पौडेल वैशाख ६ गते म्याग्दी आउने तयारी गर्नुभएको अदालतले जनाएको छ ।

म्याग्दी जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७७-७८ को साउनदेखि चैत महिनासम्म २२६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट १५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । १७५ वटा मुद्दाको फैसला भएको छ ।

यसैगरी अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार रु पाँच करोड ४३ लाख २८ हजार ४२७ जरिवाना र ७५० वर्ष तीन महिना २६ दिन कैद सजाय असुल उपर गर्न बाँकी छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेको रु ९५ लाख २४ हजार ३४९ र यस वर्ष थपिएको रु आठ करोड १४ लाख ४६ हजार ६८३ मध्ये रु तीन करोड ६६ लाख ४४ हजार ६०५ असुल उपर भएको छ ।

जिम्मेवारी सरेर आएको रु पाँच लाख ६२ हजार ६४ र यो आर्थिक वर्षको रु तीन करोड ६० लाख ८२ हजार ५४१ असुल भएको हो । नौ महिनाको अवधिमा २३५ वर्ष ११ महिना १ दिन कैद सजाय फस्छौट भएको अदालतले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ