त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।
पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो ।
पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफ्टवेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो ।
बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले रु ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफ्टवेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए ।
विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट www.tucl.org.np मा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ ।
सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।
गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ ।
पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए ।
उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेशमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।
उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् ।
यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ ।
उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिसोर्स पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।
छुट्टै ई–पुस्तकालय
प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माणको शुरुआत गरेको छ । अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ ।
पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेशन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उनले बताए ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी