नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् । आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनको भनाइ थियो । नेपालले पुराना कुरा बिर्सन तयार रहेको भन्दै नयाँ ढंगले अगाडि बढ्न ओलीसँग प्रस्ताव गरे ।
आज आयोजित आफ्ना गुटनिकट युवाहरुको भेलामा नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’
नेपालले लामो समय ओलीको आलोचनामा खर्चिएका थिए । त्यसका बाबजुद ओलीसँग नछुट्टिने बताए ।
नयाँ ढंगले अगाडि बढ्न ओलीसँग प्रस्ताव
ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ उनले पुन कोट्याए । आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो ।
‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुपममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।
‘१२ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ रे, नवौं मात्र बसेको थाहा छ । १० औं र ११ औं बैठक खै ? बीचका २ वटा बैठक नभई तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जाँदैनौं, हामी स्वाभिमानी व्यक्ति हौं,’ युवा भेलामा नेता नेपालले भने, ‘पुराना कुरा बिर्सन तयार छौं । फ्रेस स्टार्ट गरौं, यो मेरो प्रस्ताव हो । नयाँ ढंगले अगाडि बढौं । केपी कमरेड २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कनुस् ।’
नेता नेपालले आफूहरूको सहमतिबेगर झलनाथ खनाल र आफूलाई संसदीय बोर्डमा राखिएको भन्दै त्यो मान्य नहुने बताए । आज पनि सांसदहरू बसेर विधिसम्मत ढंगले संसदीय दलको कार्यालयमा बैठक राख्न आग्रह गरिएको नेता नेपालले बताए ।
‘निजी निवासमा राखिएका त्यस्ता बैठक मान्दैनौं, संसदीय दलको कार्यालयमा बैठक बोलाएमा हाम्रा कुरा त्यहाँ राख्छौं । हामी एकताको हात बढाउन चाहन्छौं,’ नेपालले भने, ‘पार्टीभित्र सही कुराको लागि लडिरहेका छौं, राम्रो पार्टी निर्माणका लागि लडिरहेका छौं ।’
सर्वोच्चले विचित्र फैसला गरे
पार्टी एकताको वकालत गरेका नपालले सर्वोच्चले गरेको फैसलाको भने आलोचना गरे । सर्वोच्चले विचित्र फैसला गरेको भन्दै उनले यसलाई मान्नु आफूहरुको वाध्यता भएको उल्लेख गरे ।
नेपालले भने, ‘जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लिएर जाउ भन्नेजस्तै फैसला आयो । बच्चा जन्मिसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । तर सर्वोच्चले मानेन । फैसला गलत भए पनि हामीले वाध्य भएर लागू गर्नुपर्ने भइरहेको छ ।
उनले थपे, ‘दुईवटा पार्टी मिलिसकेका छौं । निर्वाचन आयोगले वैधानिक मान्यता दिइसकेको छ । राजपत्रमा प्रकाशित भएको छ । चुनाव लडिएको छ । तर, सर्वोच्चले भन्छ पार्टीको एकता रद्द भयो । बडो विचित्रको फैसला । नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुस भन्न सकिन्थ्यो । तर एकता नै भंग गरिदियो । हामी त्यसबारेमा बहस, छलफल गर्दै गरौंला । तर, अहिले निर्णय मान्न हामी बाध्य छौं ।’ पूर्वएमाले ब्यूँतिनुको अर्थ आफूहरु केपी ओलीमा जानु नभएको उनले अथ्र्याए।
‘यो फैसलाको अर्थ भनेको हामी ओलीमा जाने होइन, एमालमा फर्कने हो । ओली पनि एमालेमा फर्कने हो । एमालेको पुरानो संगठन ब्यँुताउने हो । तर, ओलीले यसलाई मान्न तयार छैनन् । अहिले सबैभन्दा ठूलो विवादको विषय त्यही हो ।’
ओली अल्पमतमा !
उनले पार्टीका सबै कमिटीहरुमा ओली अल्पमतमा रहेको दावी गरे । पदाधिकारी, पोलिटब्यूरो, स्थाइ कमिटी र केन्द्रीय समिति सबैमा आफूहरुको बहुमत रहेको उनले बताए ।
ओलीले पार्टीको वैठक बोलाउन पहिल्यैदेखि आनाकानी गर्दै आएको गुनासो नेपालले गरे । वैठकका लागि आफूहरुले अनुनय–विनय गर्दा पनि वैठक नडाकेको उनको भनाइ थियो ।
नेपालले सुनाए, ‘कस्तो बिडम्बना छ भने हामी वैठकका लागि अनुनय–विनय गछौंं । उहाँ उहुँ गर्नुहुन्छ । वैठक बस्दैन, तपाईंहरुले भनेर हुन्छ ? भन्नुहुन्छ । पार्टीमा पदाधिकारी नौजनामध्ये पाँच जनाले पाँच जनाले चिठी लेखेर पठाउनुपरो, म त्यसमा तोक लगाइदिन्छु रे । पार्टीमा तोक लाग्छ ? यो सरकारी अफिस हो
बालुवाटारमा संसदीय दलको बैठक चलिरहेको समयमा नेता नेपाल राष्ट्रिय सभागृहमा आयोजित युवाको भेलामा सहभागी थिए । बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला गर्ने नेतालाई संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर