धादिङको सल्यानटारमा खाल्डोमा जिउँदै पुर्ने डोजर चालक भारतबाट पक्राउ

धादिङको सल्यानटारमा खाल्डोमा जिउँदै पुर्ने डोजर चालक भारतबाट पक्राउ

dhading dozar copy

धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेर भाग्ने डोजर चालक जीवन भन्ने भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  बुढाथोकीलाई पक्राउ गरेको हो । घटनापछि फरार भएका सल्यान जिल्ला साविक छायाँक्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छत्रेश्‍वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका  बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग सहकार्य गरिरहेको थियो । तर, उनी पक्राउ परेकोबारे आफूलाई थाहा नभएको धादिङका एसपी महेन्द्र खड्काले बताए । घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले बुढाथोकी भागेर नेपालगञ्ज हुँदै भारत गएर लुकेर बसेको बताए । प्रहरीले उनी त्यहाँ बसेको थाहा पाएपछि पक्राउ गर्न विशेष टोली खटाएको थियो । र, भारतीय प्रहरीसँगको समवन्यमा उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।

लाइसेन्स समेत नभएकाले सिधै ज्यानमुद्धा

डोजर चालकको लाइसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्नेछ ।  साथै, लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

घटना विवरण 

२०७७ फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा  सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।

प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको दाबी छ ।

नेपालगञ्जमा ३ दिन केटीसँग बसेर सुईंको पाउनासाथ फेरि भारत

धादिङबाट भागेर सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मागेर नेपालगञ्ज हुँदै भारत पुगेका थिए । उनी सुरुमा नेपालगञ्जको बाटो हुँदै भारतको हरियाणामा रहेका आफन्तकोमा बस्न पुगेका थिए । काम विशेषले भारत आएका बताएका बुढाथोकी नेपालमा हत्या गरेर भागेको थाहा पाएपछि आफन्तले प्रहरीकोमा आत्मसमर्पण गर्न पनि सुझाएका थिए । तर भीम भने आत्मसमर्पण नगरी त्यहाँबाट पनि भागेर भारतको हरिद्वारमा आएर बस्न थालेका थिए ।

हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि भने उनी बुधबार नै भारत फर्किएका थिए । मोबाइल लोकेशन र कल डिटेलका आधारमा प्रहरीले पक्राउ गर्नसक्ने भन्दै उनले आफूले प्रयोग गरिरहेको सिम कार्ड भाँची मोबाइलसमेत फुटाएर सोही होटलमा छाडेका थिए ।

बुढाथोकीलाई पछ्याउँदै गएको सिआइबीको टोली होटलमा पुग्नु अगाडि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि उनलाई पछ्याएको सिआइबीको टोलीले बिहीबार हरिद्वारबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ