अन्नपूर्ण संरक्षण क्षेत्रको मर्दी हिमालको पदयात्रा क्षेत्रमा पदयात्रा गर्न अनिवार्य रुपमा पीसीआर चेक गरेको नेगेटिभ रिपोट साथमा हुनुपर्ने भएको छ । कात्तिक २१ गते देखि नियम लागू हुनेगरी यो निर्णय गरिएको हो ।
माछापुच्र्छे गाउँपालिकाका ७, ८, ९ तीन वटा वडाका वडा अध्यक्ष र स्थानीय पर्यटन व्यवसायीको मंगलबार बसेको संयुक्त बैठकले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर बढेपछि यो निणर्य गरेको हो ।
पोखरामा पनि पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ । काठमाण्डौंमा त झन धेरै संक्रमण फैलिएको छ । पदयात्रामा पोखराको साथै बिरगञ्ज, भैरहवा, चितवन, काठमाण्डौं लगायतका सहरबाट युवाहरु आउने क्रम बढेपछि संक्रमण नियन्त्रण गर्न पदयत्रामा आउने पर्यटकले अनिवार्य रुपमा पीसीआर चेक गरेको रिपोट सहित आउनु पर्ने बैठकले निर्णय गरेको माछापुच्र्छे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णप्रसाद दवाडीले बताए । स्थानीय नागरिकले पनि पर्यटकलाई पीसीआर टेष्ट गरेर मात्र आउन दिनु पर्ने दबाव दिएका थिए ।
पर्यटकको चाप बढे संगै मर्दी हिमालको पर्यटकीय गाउँ धम्पुस, ठुलाखर्क, पोथना, देउराली, सिदिङ् लगायतका गाउँमा संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो निर्णय गरिएको मर्दी टे«क पर्यटन व्यवस्थापन तथा व्यवसाय समितका पूर्व अध्यक्ष सुदिप गौतमले जानकारी दिए । मनाङ क्षेत्रको पदयात्रामा जान यस अघि नै पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट अनिवार्य रुपमा साथमा हुनु पर्ने निणर्य गरिएको थियो ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लगाए यता पदयात्रा क्षेत्रमा पर्यटकको शुन्यता छाएको थियो । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक आगमन खुला गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्रका मर्दी हिमाल पदयात्रा क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढेको थियो । पोखरामा रहेका विदेशी पर्यटक पनि मर्दी हिमालको पदयात्रामा जाने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रको मर्दी हिमाल पदयात्रा क्षेत्र र मनाङ मात्र पदयात्राकालागि खुला भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका सूचना अधिकारी ऋषि बरालले बताए । अन्य पदयात्रा क्षेत्रमा स्थानीय सरकार र पर्यटन व्यवासीको निर्णय आउन बाँकी रहेको छ । पर्यटक संगै कोरोना भाइरस पनि पदयात्रा क्षेत्रका गाउँहरुमा उक्लने सक्ने जोखिमलाई ध्यानमा राखेर पदयात्रा क्षेत्रका स्थानीय सरकार र पर्यटन व्यवसायीले यस बारेमा निर्णय गरिनसकेका हुन् ।
अन्नपूर्ण पदयात्रा क्षेत्र विश्व पर्यटन बजारमा चर्चीत पदयात्रा मार्ग हो । सामान्य अवस्थामा यति बेला यस क्षेत्रका अन्नपूर्ण आधारशिवीर, मनाङ, मुस्ताङ लगायतका पदयात्रा क्षेत्रमा पर्यटक खचाखच हुन्थे । अन्नपूर्ण आधारशिविरमा पर्यटकले कोठा नपाएर टेबलमा समेत सुत्ने अवस्था आउथ्यो । पोखरामा पनि विदेशी पर्यटक र आन्तरिक पर्यटकले भरिभराउँ हुन्थ्यो । दसैं तिहारको छुट्टीमा देशका बिभिन्न सहरबाट विद्यार्थी शैक्षिक भ्रमणमा पोखरा आउथे । विश्वभर फैलिएको कोरोना त्रासले विश्व पर्यटन बजार नै ठप्प छ ।
मर्दी हिमालको पदयात्रा क्षेत्रमा दसैं लगतै स्वदेशी पर्यटकको चाप बढेको थियो । एकै दिनमा २ सय ५० जना सम्म पर्यटक पुगेको स्थनीय पर्यटन व्यवसायीले बताएका छन् । पछिल्लो समयमा पर्यटकको आगमनल फेरि घटेर दैनिक ३५ ÷४० जना मा झरेको मर्दी टे«क पर्यटन व्यवस्थापन तथा व्यवसाय समितिका पूर्व अध्यक्ष गौतमले सुनाए ।
मर्दी हिमाल ट्रेक माछपुच्छ्रे हिमाललाई नजिकबाट अवलोकन गर्न निकै प्रख्यात पदयात्रा हो । पोखराबाट दुई दिनमै ३५५० मिटर उचाईमा रहेको हाई क्याम्प पुगिन्छ । त्यहीबाट माछापुच्छ्रे हिमाल माछाको पुच्छर जस्तो आकारमा छ्याङ्ग देखिन्छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो