तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै

तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै

chimkesori temple

दमौली: तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाक्ँिलदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ ।

गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी दिदीका रुपमा परापूर्वकालदेखि पुजिँदै आएको छिम्केश्वरीमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वासका कारण यसको गरिमा र महत्व बढाएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवी, माइली छिम्केश्वरी, साइली गोरखकाली, काँइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्र्णा र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल देखिन्छ ।

कोभिडले एक वर्ष सुनसान बनेको छिम्केश्वरीमा पछिल्ला दिनमा भने दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए। “अहिले शनिबार र बिदाको दिनमा त दैनिक दुई-तीन सय जनासम्म भक्तजन आइरहनुभएको छ”, गुरुङले भने , “बाटो पनि सहज भएकाले अन्य दिनमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।” अहिले चहलपहल ह्वात्तै बढेको वडाध्यक्ष गुरुङले भने ।

मन्दिरका पुजारी धनराज गुरुङले छिम्केश्वरीमा प्रत्येक वर्षको फागुपूर्णिमा र वैशाख १ गते विशेष मेला लाग्ने बताए । गाउँपालिकाले मन्दिरको पुनः निर्माण पनि गरिरहेको छ । डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनः निर्माणको काम भइरहेको छ । गाउँपालिकाले मन्दिर पुनः निर्माण गर्न गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए । छिम्केश्वरी, आँधिमूललगायत ठाउँको प्रचारप्रसारका लागि गाउँपालिकाले काम गरिरहेको छ ।

छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५-७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण गरिएको छ । आर्थिक वर्ष ०७६-७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण गरिएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिँढी निर्माण भएसँगै मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिए । पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु ६० लाख ८५ हजार ९५६ लगानी भएको छ । स्थानीयवासीले रु १५ लाख ७४ हजार ८९० बराबरको जनश्रमदान गरेका थिए । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा मन्दिर पुग्न सकिन्छ । बाटो विस्तार नहुँदा दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

प्रदेश सरकारकै लगानीमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रको काम गत वर्षदेखि शुरु भएको छ । कोभिडले केही समय रोकिएको सडकको कामले अहिले गति लिएको छ ।

प्रदेश सरकारको रु ३० करोड लागतमा सडक कालोपत्रका लागि काठमाडौँस्थित शर्मा एन्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

त्यस्तै लाब्दी गाउँमा पनि घरवास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ । त्यहाँका १३ घरमा घरवास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds