यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको हो । प्रदर्शनी कक्ष , खेलकूदको मैदान र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन् ।
क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २०० प्रदर्शनी कक्ष बुकिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिए । खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उनले बताए । मगरहरुको सांस्कृतिक नृत्यका चार टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उनले जानकारी दिए ।
कार्यक्रमस्थलमा सुरक्षाका लागि आठ वटा सिसी क्यामेरा जडान गरिएको छ । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हातधुन पानी र साबुनको व्यवस्था गरिने भएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ ।
स्थानीय उत्पादनको बिक्री वितरण, प्रवद्र्धन र प्रचारप्रसारमा पनि मगर महोत्सव सफल हुने बताइएको छ ।
रु सात करोड विनियोजन
पश्चिम क्षेत्रमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क जोड्ने बारीबेनी–बगर–बाँसखर्क सडक कालोपत्रेका लागि रु सात करोड विनियोजन भएको छ ।
जलजला गाउँपालिका–२ बारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयमा पुगे पनि बजेटको सुनिश्चितता नभएका कारण बोलपत्र प्रक्रियामा जान सकेको थिएन । कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको थियो भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर सो मन्त्रालयमा पठाएको थियो । दश किलोमिटर लामो यो सडकको कूल लागत लगभग रु २२ करोड छ । यस वर्ष रु सात करोड विनियोजन भएपछि झण्डै सात किलोमिटर कालोपत्रे हुने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भूकम्प आपत्कालीन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको थियो । गत वर्ष पनि प्राधिकरणले डिपिआर स्वीकृत गरी आयोजना अघि बढाउन अर्थमन्त्रालयसँंग सहमति मागेको थियो । मन्त्रालयले स्वीकृत नदिएका कारण बोलपत्र आह्वान हुन सकेको थिएन । अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । यहाँ बर्सेनि फल्ने करोडौँका सुन्तला सडककै कारण ढुवानीमा समस्या छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित घरवास प्रवद्र्धन गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने जलजला–१ का वडाध्यक्ष तुलसी रेग्मीले बताउनुभयो । बासखर्कमा वार्षिक तीनदेखि पाँच करोडका सुन्तला उत्पादन हुने गरेको उनले जानकारी दिए ।
बिहादी औद्योगिक ग्राममा रु ५८ लाखका संरचना निर्माण
‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत बिहादी गाउँपालिकामा निर्माण भएकामा औद्योगिक ग्रामको पहिलो चरणका काम सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत बिहादीमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाएको हो । सङ्घ र प्रदेश सरकारको सहलगानीमा गत वर्षदेखि औद्योगिक ग्राम स्थापनाको काम शुरु भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार सङ्घीय सरकारबाट प्राप्त भएको बजेटबाट अहिलेसम्म करिब रु ५८ लाख खर्चिएर विभिन्न संरचना निर्माण भइसकेका छन् । पूर्वाधार निर्माणअन्तर्गत जग्गा सम्माउने, तारबार लगाउने, विद्युत् जडान, सडक निर्माण, पानीको व्यवस्थापन, सुरक्षा पर्खाल निर्माण, ढल निकासलगायतका काम सम्पन्न भएको उनले बताए । औद्योगिक ग्राममा सङ्घ सरकारबाट बाट रकम प्राप्त भएर पूर्वाधार निर्माणको काम भएको र प्रदेश सरकारबाट हालै रु ३० लाख प्राप्त भएको उनले जानकारी दिए।
प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट थप काम गर्न बोलपत्र आह्वान गर्ने तयारी रहेको छ । औद्योगिक ग्राममा स्थानीय स्तरका घरेलु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । फर्निचर उद्योग, कुटानीपिसानी मिल निर्माण, सलाइका काँटी बनाउने, अगरबत्ती उद्योग तथा स्थानीय कच्चा पदार्थमार्फत बन्ने बस्तु उत्पादन हुने उद्योग स्थापना गर्ने तयारी भएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटले प्रदर्शनी हल निर्माण गर्ने र त्यसैमा साना तथा घरेलु उद्योग निर्माण हुने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । औद्योगिक ग्रामलाई बृहत्तररुपमा सञ्चालन गर्न गाउँपालिकाले अर्थ मन्त्रालयमा बजेटको माग गरेको पनि प्रशासकीय अधिकृत भुसालले बताए । मन्त्रालयमा रु २८ करोडको डिपिआर तयार पारेर पेश गरिएको उनले बताए । सरकारलाई बहुवर्षे पूर्वाधार विकासको रुपमा बिहादीको औद्योगिक ग्रामलाई समावेश गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । बिहादीसँगै फलेवास, कुश्मा र जलजलामामा पहिलो चरणमा औद्योगिक ग्राम स्थापना गर्न थालिएको छ । कुश्मा नगरपालिका–१ पाङ, जलजला गाउँपालिका–३ माझफाँट र फलेवासको देवीस्थानमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी भइरहेको छ ।
सम्बन्धित खबर
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु
पत्रकार महासंघ पर्वत अध्यक्षमा सापकोटा
पर्वतमा १२ दिनदेखि बेपत्ता वृद्ध मृत फेला
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी